काठमाडौं– हिरो भारतीय महिला लिग खेल्नका लागि नेपालका दुई फुटबलर भारत जाने भएका छन्। राष्ट्रिय टिमकी फरवार्ड सावित्रा भण्डारी र मिडफिल्डर अनिता बस्नेत भारतको पञ्जाव प्रस्थान गर्न लागेका हुन्।
दुवै जना सेथु एफसीमा आबद्ध छन्। दुवै जनाले नेपालका लागि पहिलो पटक विदेशी व्यावसायिक महिला लिग खेल्न लागेका हुन्।
तामिल नाडुको यो क्लब गत सिजनमा सेमिफाइनलसम्म पुगेको थियो। सिजनमा क्लबले नेपालका दुई खेलाडीसँगै भारतीय राष्ट्रिय टिमका खेलाडी भित्र्याएको छ। जसमा ग्रेस, रतनबाल देवी, असलता देवी, सन्ध्या र इन्दुमती छन्।
यस सिजनको लिग आगामी ५ मेबाट सुरु हुँदैछ। १४ टिमको प्रतिस्पर्धा रहेको लिगका सबै खेल पञ्जावको गुरु नानक रंगशालामा हुँदैछ।
लिगमा दुई समूहमा प्रतिस्पर्धा हुँदैछ। सावित्रा र अनिता आबद्ध सेथु समूह बीमा छ। जहाँ सेथुसहित बैंग्लोर युनाइटेड, बरोडा एफसी, सीआरपीएफ एफसी, कोल्हापुर, मनिपुर पुलिस र कुटाक छन्।
लिगका शीर्ष २ टिम सेमिफाइनलमा पुग्नेछन्। फाइनल खेल मे २२ मा हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।