बुटवल- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशको आवश्यकताले वामपन्थीहरु एक हुनुपर्ने भन्दै अब देशमा स्थायी सरकार बन्ने र विकासका चरण सुरु गरिने बताएका छन्।
वाम गठबन्धनले बुधबार बुटवलमा आयोजना गरेको चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले वामपन्थी सरकार निर्माण गरेर विकासका नीतिगत उद्देश्यहरु पूरा गरिने बताए।
'निर्वाचनपछि छिमेकीसँग हैसियतअनुसारको सम्बन्ध विस्तार गर्दै दीर्घकालीन सोचका साथ बलियो सरकार बन्नेछ', उनले भने।
पूर्वप्रधानमन्त्री ओलीले देश र सन्तानको भविष्यका लागि वाम गठबन्धनलाई भोट हाल्न मतदातालाई आह्वान समेत गरे। उनले वाम गठबन्धनका रुपन्देहीका उम्मेदवारहरुलाई भोट माग्दै वाम उम्मेदवार यहाँका सक्षम नेताहरु रहेकाले जिताउन आग्रह गरे।

फरक प्रसंगमा ओलीले भारतसँग कांग्रेसले सम्बन्ध बिगारेकै कारण आफू प्रधानमन्त्री हुँदा नाकाबन्दी भएको र चीनसँगको पारवहन सम्झौताले नाकाबन्दीको युग सकिएको तर्क गरे।
ओलीले कांग्रेसलाई लक्षित गर्दै लोकतन्त्रको नाममा जनतामा भ्रम फिँजाइएको पनि बताए। हिजो कम्युनिस्ट शासन आए ६० वर्ष पुगेका बूढाबूढीलाई मार्छ भन्नेहरु आज फेरि लोकतन्त्रको नाममा जनतालाई झुक्याउने खेलमा लागेको उनले बताए।
'देशका ३८ वटा उद्योग तथा कलकारखाना बन्द गराएर ४० लाख युवालाई विदेश पठाउनेहरुबाट देश चल्दैन', उनले भने, 'कांग्रेसले नेपाललाई गरिब देश बनाउन चाहेको छ।'
सभालाई सम्बोधन गर्दै माओवादी केन्द्रका महासचिव रामबहादुर थापाले निर्वाचनपश्चात् समाजवाद स्थापनाकै लागि वाम एकता आवश्यक रहेको बताए।
सभालाई गठबन्धनका उम्मेदवार तथा रुपन्देही क्षेत्र नम्बर २ का उम्मेदवार विष्णुप्रसाद पौडेल र रुपन्देही क्षेत्र नम्बर ३ का उम्मेदवार घनश्याम भुसाल, माओवादी केन्द्रका नेता तथा रुपन्देही क्षेत्र नम्बर ५ का उम्मेदवार डिलाराम आचार्यलगायतले पनि सम्बोधन गरेका थिए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।