पोखरा- नेकपा एमाले र माओवादी केन्द्रका प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ र प्रदेशसभा क्षेत्र नम्बर २ (क) र (ख) का उम्मेदवारले साझा प्रतिबद्धतापत्र सार्वजनिक गरेका छन्।
प्रतिबद्धतापत्रमा पोखरालाई विकसित र आर्थिक समृद्धिको शहर बनाउने, राष्ट्रिय स्वाभिमानलाई उच्च राख्ने, राजनीतिक स्थिरता र लोक कल्याणकारी कार्यक्रममार्फत देशको आर्थिक समृद्धि र सामाजिक रुपान्तरण गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
पोखरा–जोमसोम–कोरलानाकाबाट चीन जोड्ने, पोखरा भिमाद कावासोतीबाट भौसालोटन हुँदै भारत जोड्ने र ४ नम्बर प्रदेशको राष्ट्रिय लोकमार्ग निर्माण कार्य अगाडि बनाउने प्रतिबद्धतापत्रमा उल्लेख छ।
यस्तै, पोखराको खानेपानी आयोजनामा दोब्बरभन्दा बढी क्षमता भएका पाइपलाइन विस्तार र विभिन्न ठाउँमा पानी संकलन गर्ने ट्यांकी राख्ने, महानगरलाई स्वच्छ, सफा एवं सरसफाइयुक्त शहर बनाउन ढल निर्माण र ल्यान्डफिल्ड साइड बनाउने जस्ता कार्य गर्ने पनि बताइएको छ।
एमाले स्थायी कमिटीका सदस्य सोमनाथ अधिकारी प्यासीले साझा प्रतिबद्धतापत्र सार्वजनिक गर्दै गठबन्धनका साझा उम्मेदवारको जित सुनिश्चित भएकाले वाम गठबन्धनको सरकारले प्रतिबद्धता पूरा गर्नेगरी काम गर्ने दृढता व्यक्त गरे।
कास्की प्रतिनिधिसभा क्षेत्र नम्बर २ का उम्मेदवार रवीन्द्र अधिकारीले स्थानीय तह, प्रदेश र केन्द्रमा बन्ने वामपन्थीको सरकारले साझा प्रतिबद्धता क्रमगत रुपमा पूरा गर्दै अघि बढ्ने बताए।
प्रतिनिधिसभा कास्की क्षेत्र नम्बर २ मा वाम गठबन्धनबाट एमालेका अधिकारी, प्रदेशसभा क्षेत्र नम्बर २ (क) बाट एमालेका कृष्ण थापा र (ख) मा माओवादी केन्द्रबाट राजकाजी गुरुङ उम्मेदवार छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।