काठमाडौं– भाषणमा केपी ओली रसिला मानिन्छन्। उनको प्रत्येक भाषणमा केही न केही रोचक अभिव्यक्ति हुनेगर्छ। जसले प्रत्यक्ष रूपमा भाषण सुन्नेहरूलाई मात्रै होइन, सो बारेको समाचार पढ्नेलाई मनोरञ्जन दिन्छ। उनका अभिव्यक्तिले समर्थकलाई उत्साहित र विपक्षीलाई क्रुद्ध बनाउँछ।
पूर्वप्रधानमन्त्री भए पनि ओलीको भाषणमा त्यस किसिमको गम्भीरता र कूटनीति पाइँदैन। जसलाई जे भन्न मन लागेको हो, सीधै भनिदिन्छन्। विम्ब र टुक्काहरु प्रयोग गरेर रोचक रुपमा भनाइ राख्ने 'ओली-ब्रान्ड' नै बनिसकेको छ।
प्रधानमन्त्री भएपछि ओली अनेकथरी अपत्यारिला सपनाको घोषणा गरेर चर्चित भएका थिए। अहिले चुनावी प्रचारप्रसारका क्रममा पनि उनले त्यस्तै सपनाका खेती गरिरहँदा सामाजिक सञ्जालमा राम्रै तरंग ल्याउने गरेको छ।
अर्का नेता तथा हालका प्रधानमन्त्री शेरबहादुर देउवा पनि बेलाबखत रमाइलो अभिव्यक्ति दिने गर्छन्। विशेषगरी आक्रोशित भएका बेला उनीबाट रमाइला र 'क्याची' अभिव्यक्ति आउने गर्छन्।
प्रचण्ड पनि मान्छेको ध्यान तान्ने खालको अभिव्यक्ति दिन सिपालु छन्। माहौल अनुसार बोल्ने भएकाले कतिपय बेला उनका विचारमा संगति पाइँदैन। अर्कातिर, उनी मृत भइसकेका दिग्गज पात्रसँग जोडेर सो व्यक्तिको सपनाको उत्तराधिकारी आफू भएको सन्देश दिन खोजिरहेका हुन्छन्।
यहाँ विशेषगरी भाषणमा प्रयोग गरेका कटाक्ष र विम्बका कारणले रोचक सुनिएका, अस्वाभाविक मानिएका र सामाजिक सञ्जालमा बहसमा आएका अभिव्यक्तिलाई प्रस्तुत गरिएको छ। यो अभिव्यक्ति जुटाउँदा विभिन्न छापा तथा डिजिटल पत्रिकाहरू, सञ्चारका अन्य साधनहरू र सामाजिक सञ्जालमा बहसमा आएका अभिव्यक्तिलाई प्राथमिकता दिइएको छ। सम्भव भएसम्मका भाषण सुनेर र अन्य तरिकाले पनि 'क्रस चेक' गर्ने प्रयास गरिएको छ।
१. 'ज्योतिषीले अझै तीन पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्'

प्रधानमन्त्री शेरबहादुर देउवाले कात्तिक ३० गते अझै तीन पटक प्रधानमन्त्री हुने दाबी गरे। त्यसको आधारको रुपमा अघि सारे, ज्योतिषीको भनाइलाई। धनगढीमा नेपाल प्रेस युनियन कैलालीले आयोजना गरेको पत्रकार सम्मेलनमा पत्रकारको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री देउवाले भनेका थिए– ‘ज्योतिषीहरुले मलाई सात पटक प्रधानमन्त्री हुन्छस् भनेका छन्, म फेरि तीन पटक प्रधानमन्त्री हुन बाँकी छ, कम्युनिस्टहरुले भनेर हुन्छ?'
२. 'कम्युनिस्ट सत्तामा आयो भने रुन पनि पाइन्न'
प्रदेश र प्रतिनिधिसभाका लागि पार्टीको घोषणापत्र सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री देउवाले यस्तो अभिव्यक्ति दिएका थिए। कात्तिक १४ गते उनले पार्टी कार्यालयमा आयोजित कार्यक्रममा भनेका थिए– 'कम्युनिस्ट शासन आयो भने मानवअधिकारदेखि प्रजातन्त्र सबै समाप्त हुन्छ। त्यतिबेला जनताले साह्रै दु:ख पाउँछन्। कम्युनिस्ट शासन आयो भने रुन पनि पाइन्न, बाबा!'
३. 'लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै'

मंसिर ४ गते विराटनगरको शान्ति चौकमा आयोजित सभामा एमाले अध्यक्ष ओलीले भनेका थिए- 'नेपाली जनता पञ्चायतको लाठी र गोलीसित लड्दै थिए। नेपालबाट भागेर शेरबहादुरजी लन्डनका गल्लीमा पाउरोटीमा जाम दल्दै हुनुहुन्थ्यो।'
देउवा र बेलायतको गल्लीलाई जोडेर ओलीले अभिव्यक्ति दिएको यो पहिलो पटक होइन। कात्तिक १७ गते उनले झापामा आयोजित कार्यक्रममा पनि सोही आशयको अभिव्यक्ति दिएका थिए। आफू लोकतन्त्रका लागि जेलनेल भोगिरहँदा अहिलेका प्रधानमन्त्री देउवा बेलायतका गल्लीमा बरालिइरहेको उनले आरोप लगाएका थिए।
४. 'झापाका सडक अफ्रिकन ब्युटीको गाला जस्तै!'
यो अभिव्यक्ति माओवादी नेता राम कार्कीले दिएका थिए। कात्तिक ३० गते झापामा कार्कीले भनेका थिए- 'तपाईंहरु हामीलाई भोट दिनुस्, वामपन्थीको सरकार बनाउनुस्। पाँच वर्षको अवधिभित्र झापाका सबै सडक अफ्रिकन ब्युटीको गाला जस्तै बनाइदिन्छौं। अफ्रिकामा जो सुन्दर मान्छेहरु हुन्छन् नि, तिनीहरुको जस्तो पोटिलो गाला! हामीले बोलेका कुरा ढुंगामा लेखेको अक्षर जस्तै हो, ढाँट कुरा गर्दैनौं।'
५. 'डा. केसी, पेडा पसल जस्तो नयाँ शक्ति खोल्नुस्!'
मंसिर १ गते काठमाडौंमा एमाले अध्यक्ष ओलीले डा. गोविन्द केसीप्रति आक्रोश पोखेका थिए। उनले भनेका थिए– 'सरकारले आफ्नै कर्मचारीसँग सम्झौता गर्ने र सरकारकै तलब खाने कर्मचारीले राष्ट्रपतिलाई चुनौती दिने हो भने राजनीतिमा आउनुपर्छ। उनले पनि बरमझियामा पेडा पसल खोले जस्तो गरेर असली नयाँ शक्ति खोले पनि हुन्छ।'
६. 'प्रचण्डले बनाइदिएको स्विट्जरल्यान्डमा छौं हामी!'

चितवन ३ मा प्रचण्डसँग प्रतिस्पर्धा गरिरहेका राप्रपा नेता विक्रम पाण्डेको अभिव्यक्ति हो यो। कात्तिक २१ गते भरतपुर विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा उनले व्यङ्ग्य गर्दै भनेका थिए– 'प्रचण्डलाई भाषण मात्र गर्न आउँछ, विकास गर्न आउँदैन। सिरहा र रोल्पामा पनि राम्रै विकास गरेर उहाँ यहाँ आउनुभएको होला। उहाँले बनाइदिएको स्वीजरल्याण्डमा त छौं हामी!'
शान्ति प्रक्रियामा आएपछि प्रचण्डले केही समयमै नेपाललाई स्विट्जरल्यान्ड बनाउने सपना देखाएका थिए। त्यसैलाई लक्षित गर्दै नेता पाण्डेले कटाक्ष गरेका थिए।
कात्तिक ३० मा काठमाडौंको एउटा रेडियोसँगको कुराकानीमा पनि पाण्डेले प्रचण्डप्रति तिखा शब्द पोखेका थिए। भनेका थिए– 'प्रचण्डजी अस्थिर राजनीतिज्ञ हुनहुन्छ। उहाँले विभिन्न ठाउँमा गएर खाली सिसी पुराना कागजको व्यापार गरिरहनुभएको छ।'
७. 'कर्कलोलाई बञ्चरो चलाउनु जरुरी छैन'
यो अभिव्यक्ति पनि ओलीकै हो। कात्तिक २९ गते गोरखा पुगेर उनले यस्तो अभिव्यक्ति दिएका थिए। गोरखाको पालुङटारमा भएको चुनावी सभालाई सम्बोधन गर्न माओवादी अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओली दुवै पुगेका थिए। त्यसै क्रममा ओलीले बाबुराम भट्टराईप्रति व्यंग्य गर्दै भनेका थिए– 'नयाँ शक्तिमा अब त एक जना अध्यक्ष र केही कलाकार बाँकी छन् भन्ने सुनेको छु। बिचरा ! म उहाँको धेरै आलोचना पनि गर्दिनँ, कर्कलोलाई बञ्चरो चलाउनु जरुरी छैन।'
८. 'हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं'

यो माओवादी अध्यक्ष प्रचण्डको दाबी हो। ९/९ महिनामा सरकार परिवर्तन हुने देशमा उनको अभिव्यक्ति अस्वाभाविक थियो। मंसिर १ गते पर्वतमा आयोजित कार्यक्रममा उनले भनेका थिए– 'हामी कम्युनिस्ट नमिल्दा कांग्रेस तीन दशक सत्ताकेन्द्रित भयो, अब हामी कम्युनिस्टले ५० वर्ष मुलुक चलाउँछौं।'
९. 'जन्मभूमिको माया'
जन्मभूमिको मायाले आफ्नो विगतबाट यु टर्न लिने नेता हुन् संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादव। सप्तरीमा आफ्नो उम्मेदवारी दर्ता गराउँदै यादवले जन्मभूमिप्रतिको मायाले गर्दा सप्तरीबाट उम्मेदवारी दिएको बताएका थिए। संविधानसभाका दुवै निर्वाचनमा उनी सुनसरी ५ र मोरङ ५ बाट उम्मेदवार भएका थिए।
यादवले स्थानीय तहको चुनावमा भाग लिनुअघि पनि यस्तै कारण देखाएका थिए। भनेका थिए– 'मैले आफू जन्मेको भूमिलाई सम्झिएँ।'
१०. 'लोकतन्त्र रक्षाका लागि उम्मेदवारी'

अरुले बोलेको भए यो अभिव्यक्तिमा खासै आश्चर्य हुने थिएन। तर यो बोली गुन्डा नाइके गणेश लामाको हो। कात्तिक १६ गते काभ्रेमा प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (ख) बाट उम्मेदवारी दिएका लामाले सञ्चारकर्मीसँग भनेका थिए– 'लोकतन्त्र अहिले खतरामा छ। मेरो उम्मेदवारी लोकतन्त्रको रक्षाका लागि हो।'
लामाको यो अभिव्यक्ति आएसँगै सामाजिक सञ्जालमा टीका-टिप्पणी भएको थियो। सामाजिक सञ्जाल प्रयोगकर्ताले निराशा र आक्रोश मिसिएको भावमा प्रश्न गरेका थिए- 'गणेश लामाले रक्षा गर्नुपर्ने लोकतन्त्रको जग कस्तो होला र हामीले उपभोग गरिरहेको लोकतन्त्रको चरित्र कस्तो हुँदैछ?'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।