गोरखा- मंसिर १० गते गोरखासहित देशमा ३२ जिल्लामा प्रदेश र प्रतिनिधिसभाको निर्वाचन हुँदैछ। पहिलो चरणमा हुन लागेको निर्वाचनका लागि गोरखाका ३ वटा मतदानस्थल महिलामैत्री बनाइने भएको छ।
महिलाहरुलाई हौसला प्रदान गर्न र आत्मविश्वास जगाउन महिलामैत्री मतदान केन्द्र बनाउन लागिएको निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए। गोरखाका २ सय ८२ मध्ये ३ मतदान केन्द्र महिला मैत्री बनाउने तयारी भएको छ। निर्वाचन क्षेत्र नम्बर १ मा एउटा र २ मा दुई मतदान केन्द्रमा महिला मात्रै कर्मचारी खटाई महिलामैत्री बनाउन लागिएको हो।
क्षेत्र नम्बर १ मा पर्ने गोरखा नगरपालिकाको बालमन्दिर मावि छहरे, २ मा पर्ने सरस्वती मावि आहाले र द ओल्ड क्यापिटल रानीवनको ‘ख’ मतदान केन्द्रमा महिला कर्मचारी मात्र खटिनेछन्। ‘हामी जिल्लाको निर्वाचनलाई नमुना बनाउन चाहन्छौं। सबैको आँखा पनि गोरखामै छ, त्यसैले हामीले ३ वटा केन्द्र महिलामैत्री बनाउदैछौं,’ उनले भने।
स्थानीय तहको निर्वाचनमा जिल्लामा ओल्ड क्यापिटल माविको एउटा मात्रै केन्द्रलाई महिलामैत्री बनाइएको भए पनि अहिले ३ वटामा महिला मात्रै कर्मचारी खटाउन लागिएको हो।मदतान अधिकृतसहित अन्य सातै जना र ४ जना स्वयंसेवक समेत महिला नै खटिनेछन्। त्यस्तै ती मतदान केन्द्रहरुमा सुरक्षाकर्मीहरु समेत महिला नै खटाउने व्यवस्था मिलाइएको कार्यालले जनाएको छ।
बालमन्दिर मावि छहरेमा रहेको मतदान केन्द्रमा गोरखा दरबार हेरचाह अड्डाकी प्रमुख मञ्जु सिं भण्डारीलाई मतदान अधिकृत तोकिएको छ। यस केन्द्रमा ८ सय ६१ मतदाता रहेका छन्। त्यस्तै सरस्वती मावि आहालेको केन्द्रमा महिला तथा बालबालिका कार्यालय प्रमुख सुशिला वाग्लेलाई मतदान अधिकृत तोकिएको छ।
उनी यसअघि भएको स्थानीय तहको निर्वाचनमा महिलामैत्री भएको एक मात्र केन्द्रको अधिकृत रहेकी थिइन्। उक्त मतदान केन्द्रमा ९ सय ३२ जना मतदाता रहेका छन्। द ओल्ड क्यापिटल रानीवनको ‘ख’ मतदान केन्द्रमा जिल्ला अस्पताल गोरखाकी डा. अनमिका कर्ण मतदान अधिकृतको रुपमा खटिनेछिन्। ८ सय ४० जना मतदाताले यस केन्द्रबाट मतदान गर्नेछन्।
ओल्ड क्यापिटल केन्द्रमै क मतदान स्थलमा भने मतदान अधिकृत पुरुष खटिनेछन्। यो मतदान केन्द्रलाई प्रयोगात्मक समेतको रुपमा लिइएको कार्यालयका सापकोटाको भनाइ छ। ‘एउटै केन्द्रको दुई मतदान स्थलमा महिलालाई र पुरुषलाई नेतृत्व गर्न दिदैछौं, यसलाई हामीले नयाँ प्रयोगको रुपमा समेत लिएका छौं,' सापकाटाले भने, 'पर्यवेक्षक गर्नेलाई समेतराम्रो अवसर हुन सकोस्।’
महिलामैत्री हुने ३ वटै मतदान केन्द्र सदरमुकामभित्रैका हुन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।