भक्तपुर- आजदेखि कक्षा १२ काे वार्षिक परीक्षा सुरु भएकाे छ। राष्ट्रिय परीक्षा बोर्ड र परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले कक्षा १२ को वार्षिक परीक्षाको सबै तयारी पूरा भएकाे जनाएकाे छ।
परीक्षाकाे पहिलाे दिन आज अनिवार्य अंग्रेजी विषयकाे परीक्षा हुँदैछ।
परीक्षा देशभर एकैसाथ बिहान ७ बजेबाट सुरु भएकाे बोर्डका परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए।
कक्षा १२ को परीक्षामा यस वर्ष ४ लाख २८ हजार ५२ परीक्षार्थीकाे सहभागिता रहेकाे उनले बताए। उनका अनुसार बैसाख २६ गते सम्पन्न हुने कक्षा १२ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरुको सहभागिता रहनेछ।
कक्षा १२ काे परीक्षामा सबैभन्दा कम मनाङमा ५९ जना तथा सबैभन्दा धेरै काठमाडाैंबाट ६२ हजार ५ सय ८८ परीक्षार्थी सहभागी हुनेछन्।
बोर्डले परीक्षाका लागि देशभर १ हजार १ सय ७ परीक्षा केन्द्रहरु निर्धारण गरेको छ। जसमध्ये सबैभन्दा बढी परीक्षा केन्द्र काठमाडाैंमा १ सय २२ र सबैभन्दा कम मनाङ/मुस्ताङमा १/१ परीक्षा केन्द्र निर्धारण गरिएको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए।
परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीहरुका लागि विशेष व्यवस्था गरिएको छ। कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीहरुलाई परीक्षा दिने व्यवस्था मिलाइएको उनले जानकारी दिए।
परीक्षा केन्द्रमा सिसी क्यामेरा
गत चैतमा सम्पन्न एसइई परीक्षामा प्रश्नपत्र बाहिरिएपछि कक्षा ११ र १२ को परीक्षामा त्यस्तो त्रुटी नहोस् भनेर परीक्षा बोर्डले सबै प्रश्नपत्रको सुरक्षाका लागि सिसीटिभी क्यामेरा जडान गरेको छ।
बोर्डले केन्द्र नजिकै सिसीटिभीसहितको सुरक्षा घेराभित्र रहेको कक्षबाट प्रश्नपत्र लैजाँदा केन्द्राध्यक्षलाई मोबाइलसमेत बोक्न निषेध गरिएकाे छ। बोर्डका सदस्य सचिव अर्यालका अनुसार बोर्डको मुख्यालयमा रहेको कन्ट्रोल रुमबाट देशैभरको परीक्षाका विषयमा जानकारी दिने व्यवस्था गरिएको जिकिर गरे।
परीक्षामा जिल्ला परीक्षा समन्वय समिति, केन्द्राध्यक्ष, बोर्डका अधिकारी, मन्त्रालयका अधिकारी, प्रदेशस्थित सामाजिक विकास मन्त्रालय, शिक्षा तथा मानव स्रोत केन्द्र, प्रदेश शिक्षा निर्देशनालयबाहेक अन्यलाई मोबाइल फोन लैजान निषेध गरिएको छ।
बोर्डले परीक्षामा प्रश्नपत्रमा समस्या आए वा प्रश्नपत्र गलत भए तत्काल केन्द्राध्यक्षसँग सूचना पुग्ने गरी 'बल्क एसएमएस'को व्यवस्था गरेको छ भने कुनै त्रुटी देखिए बोर्डको मुख्यालयमा रहेको विज्ञ समूहले त्रुटी सच्याएर बोर्डलाई जानकारी गराउने र यसबारे सबै केन्द्रमा जानकारी गराउने व्यवस्था गरेको छ।
अमर्यादित काम गर्नेलाई ६ महिना कैद र १ लाखसम्म जरिवाना
परीक्षामा अनियमितता गरेको पाइए जिल्ला परीक्षा समन्वय समितिले तत्काल केन्द्राध्यक्ष परिवर्तन गर्नसक्ने अधिकार दिएको छ भने परीक्षामा अमर्यादित काम गर्ने व्यक्तिलाई ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना गर्नसक्ने व्यवस्था गरिएकाे सदस्य सचिव अर्यालले जानकारी दिए।
प्रदेश १ मा १ सय ९७, २ मा १ सय १५, ३ मा ३ सय ३, गण्डकीमा १ सय १८, प्रदेश ५ मा १ सय ६२, कर्णालीमा ९३ र सुदूरपश्चिममा १ सय १९ परीक्षा केन्द्र निर्धारण गरिएको छ।
यसैगरि १ हजार १ सय ७ केन्द्राध्यक्ष, १ हजार ४ सय ८९ सहायक केन्द्राध्यक्ष, १५ हजार १ सय ७ निरीक्षक, १ हजार ४ सय ८९ कर्मचारी, २ हजार २ सय १४ कार्यालय सहयोगी र १३ हजार १ सय ८४ सुरक्षाकर्मीसहित ३४ हजार ४ सय ९० जनशक्ति परीक्षामा परिचालन हुन बाेर्डले जनाएकाे छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।