काठमाडौं- राष्ट्रपति विद्या भण्डारीले चीनमा जारी बेल्ट एन्ड रोड इनिसिएटिभ (बिआरआई) को दोस्रो सम्मेलन अन्तर्गतको गोलमेच सम्मेलनमा सहभागिता जनाएकी छन्।
शुक्रबार दिउँसो बेइजिङस्थित यान्छी ताल अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित गोलमेच सम्मेलनमा सहभागी राष्ट्र तथा सरकार प्रमुखहरुलाई चिनियाँ राष्ट्रपति सी चीनफिङले स्वागत गरे। राष्ट्रपति भण्डारीले ‘संयुक्त राष्ट्रसंघीय सन् २०३० का एजेन्डा कार्यन्वयनका लागि हरित तथा दिगो विकास प्रवर्द्धन’ विषयको गोलमेच सम्मेलनमा नेपालका तर्फबाट सहभागिता जनाइन्।
राष्ट्रपति भण्डारीसहित फिलिपिन्स, चेक गणतन्त्र र स्विट्जरल्यान्डका राष्ट्रपति उक्त सत्रका वक्ता थिए।
छलफलमा चिनियाँ राष्ट्रपति सीले सगरमाथामा वातावरण परिर्वतनको प्रतिकूल असरबारे चासो राखेका थिए। साथै सीले नेपाललाई अतिकम विकसित राष्ट्रबाट ‘ल्यान्ड लिङ्क्ड’ देशमा रुपान्तरण गर्न हिमालय वारपार बहुआयामिक सम्पर्क सञ्जाल परियोजनालाई अघि बढाउने प्रतिबद्धतासमेत जनाएका थिए।
राष्ट्रपति सीले नेपाल सरकारले अघि सारेको नारा ‘समृद्ध नेपालः सुखी नेपाली’प्रति पनि समर्थन दोहोर्याएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।