काठमाडौं– विशेष अदालतले कर फर्छ्यौट आयोगका अध्यक्ष लुम्बध्वज महत र सदस्य उमेश ढकालसँग १/१ करोड धरौटी माग गरेको छ।
अदालतले माग गरेको धरौटी रकम बुझाउन नसकेपछि उनीहरुलाई न्यायीक हिरासतमा राखिएको छ। उनीहरु सदरखोर डिल्लीबजार चलान भएको विशेष अदालतले जनाएको छ।
न्यायाधीशहरु बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको इजलासले धरौटी माग गर्ने आदेश गरेको हो। कर फर्छ्यौट आयोगमार्फत अनियमित रुपबाट कर मिनाह गरेको आरोपमा जेठ १९ गते आन्तरिक राजस्व विभागका तत्कालीन महानिर्देशक चुडामणि शर्मालाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पक्राउ गरेको थियो।
शर्मा पक्राउ परे पनि आयोग अध्यक्ष महत र सदस्य ढकाल फरार नै थिए। तर उनीहरु कार्तिक २९ गते विशेष अदालतमा हाजिर भएका थिए। करिब चारदिन लामो बयान पछि मंगलबार विशेषले दुवैसँग दुई करोड धरौटी माग गरेको हो।
१० अर्ब २ करोड १७ लाख भ्रष्टाचार गरेको आरोपमा मुद्दा दायर भएपछि विशेष अदालत उपस्थित हुनुपर्ने भए पनि आन्तरिक राजश्व विभागका पूर्व महानिर्देशक शर्माले अटेर गर्दै आएका छन्। अदालतको म्याद तामेल भएपछि भने महत र ढकाल अदालत उपस्थित भएका थिए।
विशेष अदालतले शर्माको निवास बानेश्वरमा पटक–पटक म्याद तामेल गर्न खोज्दा अटेर गर्दै आएका शर्माले अदालत उपस्थित हुन पनि अस्वीकार गरेका छन्।
कर फछ्यौट आयोगका अध्यक्ष महत, सदस्य ढकाल तथा सदस्य सचिव शर्माले ९ अर्ब ५४ करोड ६१ लाख रुपैयाँमा सम्झौता गरी ३० अर्ब ५२ करोड ५८ लाख रुपैयाँ राजश्व मिनाहा गराएका थिए। सोही विषयमाथि अनुसन्धान गर्दै अख्तियारले १८ जेठमा आन्तरिक राजस्व विभागका महानिर्देशक शर्मालाई कार्यालयबाट पक्राउ गरेको थियो।
थुनामा रहेका बेला पनि शर्माले अधिकांश समय नर्भिक अस्पतालमा बसेर हिरासत समय व्यतित गरेका थिए। अस्पतालबाटै सर्वोच्चमा रिट हाल्दै उनी छुटेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।