काठमाडौं- राष्ट्रिय पुनर्निमाण प्राधिकरणले काममा नफर्किने कर्मचारीलाई कारबाही गर्ने जनाएको छ। शुक्रबार एक विज्ञप्तसि जारी गर्दै प्राधिकरणले २०७२ सालको भूकम्पले क्षतिग्रस्त संरचनाहरुको पुनर्निर्माणमा कार्यरत प्राविधिकहरुले सामूहिक राजीनामा दिएको विषयप्रति आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।
बिहीबार प्राधिकरणका कर्मचारीले सेवा सुविधाको विषयलाई दिएर सामुहिक राजिनामा घोषणा गरेका थिए।
प्राविधिक कर्मचारीको तलबलगायत सेवा सुविधामा प्राधिकरण गम्भीर रहेको र उनीहरुको माग पनि पुरा भईसकेको विज्ञप्तीमा उल्लेख छ।
‘प्राविधिकहरुले उठाएका अतिरिक्त सेवा सुविधा लगायतका मागहरु २०७५ भदौबाट लागू हुने गरी नेपाल सरकार मन्त्रिपरिषद्को बैठकबाट निर्णय भइसकेको र त्यसबारे नेपाल इन्जिनियर्स एसोसियनका पदाधिकारीहरुसहितको २०७६ बैसाख १२ गते बिहानको बैठकमा प्राविधिकहरुलाई जानकारी गराएका थियौं। तर, दिउँसो कार्यक्रम गरी सामूहिक राजीनामा दिएको घोषणा गर्नुले पुनर्निर्माण र भूकम्प पीडित जनताको संवेदनशीलताप्रति प्राविधिकहरुको नियतमाथि प्रश्न उठाएको छ,' विज्ञप्तिमा भनिएको छ।
मागहरु सम्बोधन भइसकेको अवस्थामा तत्काल पुनर्निर्माणको कार्यमा जुट्न सबै प्राविधिकहरुलाई प्राधिकरणले निर्देशनसमेत दिएको छ। ‘पुनर्निर्माणको महाअभियानमा अवरोध सिर्जना गर्ने मनसाय राखी अघि बढेको पाइएमा कडा कदम चाल्न राष्ट्रिय पुनर्निर्माण प्राधिकरण बाध्य हुनेछ,’ शुक्रबार प्राधिकरणद्वारा विज्ञप्तीमा भनिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।