काठमाडौं- सर्वोच्च अदालत परिसरमा बम राखिएको भन्ने हल्ला निराधार भएको पाइएको छ।
अज्ञात व्यक्तिले फोन गरेर सर्वोच्च परिसरका तीन ठाउँमा बम राखेको बताएपछि प्रहरीले व्यापक खोजी गरेको थियो।
मंगलबार बिहान सर्वोच्च परिसरमा बम राखिएको र साढे १२ बजे पड्कने भन्दै सर्वोच्च अदालतको टोल फ्रि नम्बरमा फोन आएको थियो। तर, तालिमप्राप्त कुकुरको सहयोगमा सबैतिर सर्च गरिएको र केही फेला नपरेको काठमाडौं प्रहरी प्रमुख एसएसपी रविन्द्र धानुकले बताए। ‘सबै क्लियर भइसक्यो, केही भेटिएन’, उनले भने।
असनको फोटो स्टुडियो र डल्लुको मेडिकलबाट फोन गरी अज्ञात व्यक्तिले सर्वोच्च अदालतमा बम राखेको भनेर आतंकित बनाएको खुलेको छ। बम कतै नभेटिएको र अवस्था सामान्य भइसकेको प्रहरीले जनाएको छ।
सर्वोच्चका सह-प्रवक्ता नागेन्द्र कालाखेतीले पनि बम नभेटिएको नेपाल लाइभलाई बताए।
बम राखेको भनेर आतंकित बनाउने व्यक्तिको प्रहरीले खोजी सुरु गरेको छ। ती व्यक्तिले असनमा रहेको फोटो स्टुडियो र डल्लुको मेडिकल पसलको ल्यान्डलाइनबाट फोन गरेर त्यसरी आतंकित बनाएको खुलेको छ। ती व्यक्तिको खोजी भइरहेको एसएसपी धानुकले बताए।
बम राखिएको हल्लापछि सर्वोच्चमा भागभाग भएको थियो भने मुद्दा सुनुवाई समेत प्रभावित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।