काठमाडौं- बुधबार चीन भ्रमणका लागि प्रस्थान गरेकी राष्ट्रपति विद्यादेवी भण्डारीको जहाज आइपी पाइलट (प्रशिक्षक पाइलट) बिनै उडेको रहस्य खुलेको छ। नेपाल एयरलाइन्सको भिभिआइपी उडान सञ्चालन सम्बन्धी नियममा सामान्यत: आइपी पाइलट हुनुपर्ने उल्लेख छ।
साथै यसअघि सन् २०१७ मे १२ मा राष्ट्रपति भण्डारी बैंकक जाँदा पनि स्टान्टर्ड अपरेसन प्रोड्युसर विपरीत आइपी पाइलटबिनै नेपाल एयरलाइन्सले जहाज उडान गरेको विषयमा विवाद भएको थियो। विवादलगतै बनेको अध्ययन कमिटीले भिभिआइपी उडानमा आइपी पाइलट हुनुपर्ने उल्लेख गरेको प्रतिवेदन निगममा बुझाएको थियो।
.jpg)
.jpg)
'यसअघिको उडान गलत थियो वा थिएन? नियामक निकायले प्रश्न उठाइसकेको थियो। प्रश्न उठिसकेको विषयलाई सहजीकरण गर्दै जानुपर्नेमा फेरि हेलचेक्र्याइँ गर्नु नियमविपरीत हुन्छ,' नेपाल एयरलाइन्सका एक वरिष्ठ पाइलटले भने, 'नेपाल एयरलाइन्सले अप्रिल १५ मै राष्ट्रपतिको चीन भ्रमणका लागि जहाज दिन स्वीकृत गरिसकेको थियो। आइपी पाइलटले एयरबस३२० अप्रिल २३ सम्म उडाइरहेका थिए। राष्ट्रपतिको उडान अप्रिल २४ मा थियो। तर, आइपी पाइलटलाई बिदा बस्न दिई एयरलाइन्सले वरिष्ठ पाइलटको भरमा उडान गर्न दिएर हेलचेक्र्याइँ गरेको छ।'
यस प्रकारको उडानले राष्ट्रपतिको सुरक्षा संवेदनशीलतामै प्रश्न उठेको उनको भनाइ छ।
एयरबस ३२० का दुवै आइपी पाइलट (एक भारतीय नागरिक र नेपाली सुवास रिजाल) ले अप्रिल २३ (बैसाख १०) सम्म उडान गरिरहेका थिए। तर, भिभिआइपीको उडान निश्चित भएपछि पनि एयरलाइन्सले उनीहरुको बिदा स्वीकृत गरेको थियो। 'राष्ट्रपति जस्तो उच्च संवेदनशील पदको व्यक्तिको विदेश भ्रमणका लागि एयरलाइन्स व्यवस्थापनले आइपी पाइलटलाई आग्रह गरेर भए पनि बिदामा राख्नु हुने थिएन। भिभिआइपीको उडान गौरवको कुरा भएकाले आइपी पाइलट बिदामा बस्ने कुरा पनि हुने थिएन,' ती वरिष्ठ पाइलटले भने।
राष्ट्रपति भण्डारी चिनियाँ समकक्षी सी चीनफिङको निमन्त्रणमा बुधबार बिहान ११ बजे नेपाल एयरलाइन्सको जहाज चार्टर गरी चीनको राजकीय भ्रमणका लागि प्रस्थान गरेकी हुन्।
‘भिभिआइपी उडान सकेसम्म आइपी पाइलटकै साथमा गर्ने भने हो,’ नेपाल एयरलाइन्सका सहप्रवक्ता नवराज कोइरालाले भने। उनले आइपी पाइलट नभएको अवस्थामा वरिष्ठ पाइलटको साथमा पनि उडान गर्ने पाइने नियम रहेको दाबी गर्छन्।
नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले भने यस विषयमा छानबिन गर्ने बताए। 'बारम्बार यस्ता घटना हुनु राम्रो होइन,' उनले भने, 'सत्यतथ्य के हो भन्नेबारे हामी छानबिन गर्नेछौं।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।