फाइल तस्बिर
काठमाडौं- विनाशकारी भूकम्पको ४ वर्ष बितिसकेको छ। भूकम्पपछिको पुनर्निमाणको काम भने अझै धेरै बाँकी छ।
राष्ट्रिय पुनर्निमाण प्राधिकरणको तथ्याङ्कअनुसार हालसम्ममा ५० प्रतिशतमात्रै आवासीय भवन निर्माण सम्पन्न भएका छन्। २५ प्रतिशत भवन निर्माणाधीन छन् भने अझै २५ प्रतिशत आवासीय भवन निर्माणको कुनै सुरसार छैन। २ लाख १२ हजारभन्दा बढी घर सुरु हुन सकेका छैनन्।
निर्माण सुरु नभएका शिक्षण संस्थाको संख्या १३ हजार ८ सय ५१ वटा छ। यो भूकम्पका कारण क्षति भएका कूल शिक्षण संस्थाहरुको २४ दशमलव १९ प्रतिशत हो।
त्यसैगरी, पूर्ण क्षति भएका ३४ प्रतिशत स्वास्थ्य संस्था, २ प्रतिशत सरकारी भवन, ४४ प्रतिशत सुरक्षा निकायका भवन, ४१ प्रतिशत पुरातत्व तथा सांस्कृतिक महत्वका भवन, ४७ प्रतिशत ग्रामिण सडक आयोजना र ५५ प्रतिशत खानेपानी आयोजनाहरु निर्माणको कुनै पनि चरणमा जान सकेको देखिँदैन।
भूकम्पपछिको लामो समयसम्म पनि पुनर्र्निमाणको काम सुस्त गतिमै देखिन्छ। तर राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भने पुनर्निर्माणको काम सन्तोषजनक र औसतभन्दा माथि नै देखिएको दाबी गरेका छन्।
ज्ञवालीका अनुसार पछिल्लो एकवर्ष अवधिमा पुनर्निमाणको कामले अपेक्षित गति लिएको छ।
‘हामीले पुनर्निर्माणका लागि स्थानीय तहसँग समन्वय गर्यौं। यो अवधारणा निकै सहायकसिद्ध भयो। अन्तर्राष्ट्रिय क्षेत्रले समेत सराहना गरेको छ,’ ज्ञवालीले भने। तर उनले भनेजस्तै पुनर्निर्माणमा उल्लेख्य प्रगति भने देखिँदैन।
पुनर्निर्माणका लागि चाहिने आर्थिक अभाव र जनशक्ति अभाव अहिलेको प्रमुख चुनौती रहेको उनको भनाइ छ। यद्यपि, आगामी २ वर्षभित्रमा सबैकाम सक्ने गरी प्राधिकरणले काम गरिरहेको उनको दाबी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।