रसुवा– मंसिर १० गते हुने निर्वाचनमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि प्रशिक्षण सुरु गरिएको छ।
मतदान केन्द्रमा गर्नुपर्ने काम, मतदातासँग गर्नुपर्ने व्यावहार, मतदान केन्द्रमा खटिएपछि गर्न नहुने कामको बारेमा जानकारी दिन सदरमुकाम धुन्चेमा प्रशिक्षण सञ्चालन गरिएको हो। कार्यक्रममा मतदान अधिकृत र सहायक मतदान अधिकृत गरी ९५ जना सहभागी छन्।
जिल्लामा रहेका विभिन्न सरकारी कार्यालयका खरिदारदेखि सुब्बासम्मका कर्मचारी छनोट गरेर प्रशिक्षण सञ्चालन गरिएको जिल्ला निर्वाचन कार्यालय रसुवाले जनाएको छ।
निर्वाचनअघि सञ्चालन गर्नुपर्ने तीन वटा तालिममध्ये मतदाता शिक्षा कार्यक्रम र पत्रकारसँगको अन्तरक्रिया सम्पन्न भइसकेको जिल्ला निर्वाचन अधिकारी नविन खालिङले जानकारी दिए।
निर्वाचन कार्यालयका अनुसार, ४५ वटा मतदान केन्द्रमा दुई सय ५६ कर्मचारी खटाइनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।