कञ्चनपुर- कञ्चनपुरको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको तारापुर शिविरमा बस्दै आएका निकुञ्ज विस्थापित परिवारका पाँच घरमा हात्तीको बथानले क्षति पुर्याएको छ।
राति ११ बजे २०/२५ को सङ्ख्यामा निकुञ्ज क्षेत्रबाट शिविरमा आएको हात्तीको बथानले दिलबहादुर लुहार, जितराम चौधरी, लालबहादुर डगौरा, विजय डगौरा, दुखराम डगौराको घर भत्काई अन्न खाएर नोक्सानी गरेको इलाका प्रहरी कार्यालय, झलारीका प्रहरी नायब निरीक्षक लालमणि जोशीले बताए।
'शिविरकै लालबहादुरको बाख्रासमेत हात्तीले मारेको र भान्सामा रहेको आगोबाट छावालाई जोगाउनका लागि हात्तीले आगो फाल्दा पूरै घर जलेर नष्ट भएको छ,' उनले भने।
निकुञ्ज प्रशासनले धान चुट्न नदिँदा भित्र र आँगनमा राखिएको धान हात्तीको बथानले खाएपछि बिचल्लीमा परेको स्थानीय जितबहादुर बताए। एक दर्जनभन्दा बढी चौपायासमेत हात्तीको आक्रमणले घाइते भएको उनले बताए।
हात्तीको त्रासले स्थानीयवासी शिविरमा बस्न छाडी नजिकको बस्तीमा जान थालेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।