समाज परिवर्तनशील हुन्छ। तर, बदलिन चाहने समाजलाई तुच्छ मानसिकता भएको सोचले जकड्याएर राख्छ। समाज रुपान्तरित हुनु भनेको महिला, दलित र सीमान्तकृत समुदायले आफ्नो हक-अधिकारको खुलेर उपयोग गर्न पाउनु र आफूलाई चित्त नबुझेको कुरामा विरोध गर्नु पनि हो। तर, पुरुषवादी परम्परागत सोचले निर्देशित समाज आफू पनि बदलिँदैन र अरुको प्रगति पनि देखिसहँदैन।
सन्दर्भ राष्ट्रिय मानव अधिकार आयोगकी आयुक्त मोहना अन्सारीबारेको भ्रामक समाचार र त्यसैलाई दुष्प्रचार गर्ने क्षुद्र मगजका व्यक्तिहरुको दुर्नियतको हो। सिनो गन्हायो भनेर नाक थुन्ने तर सिनो हटाउन कुनै प्रयास नगर्नेहरुका लागि आयुक्त अन्सारीको सफलता र उनको अडान पच्न नसक्दाको परिणाम हो यो।
पुरुषवादी सोचले निर्देशित समाजले महिलाको लागि निश्चित मापदण्ड तय गरेको छ। यदि कुनै महिला त्यो मापदण्डभन्दा माथि गइन् भने तिनलाई छिर्के लगाएर लडाउने प्रपञ्च रचिन्छ। कुनै महिला त्यो मापदण्डभन्दा तल झरिन् भने खुच्चिङ भन्दै तिनको चरित्रहत्या गर्न ढिलाइ गरिन्न। अन्सारीको सन्दर्भमा उनी सामाजिक मापदण्डभन्दा माथि पुगेपछि केही अगुवा भनाउँदाहरुलाई पाच्य हुन सकेको छैन।
एक त मधेसकी र त्यसमाथि मुस्लिम समुदायबाट आफ्नो योग्यता र परिश्रमले मानव अधिकार आयोगको आयुक्त बनेकी हुन् अन्सारी। जो मधेसीको हक-हितका लागि लडिरहेकी छन्। यो कुरा देश र समाजमा परिवर्तन नचाहने एउटा वर्गलाई पचिरहेको छैन।
पुरुष हिंसाको खुलेरै विरोध गर्ने र महिलाको पक्षमा आवाज उठाउने अन्सारीको विषयमा बनाइएको भिडियोलाई दोषी चश्मा भएकाहरुले प्रायोजित देखिरहेका छन्। आफू कुनै अमूक राजनीतिक दलको झोलामा लुटपुटिएकाहरुलाई अरुको निष्पक्षता र चर्चा विष हुने नै भयो!
महिलामाथि गरिने जघन्य बलात्कार वा अन्य हिंसाका लागि पुरुष वर्ग आफ्नो प्रदूषित सोचलाई दोषी नमानेर महिलाको शरीर, लुगाको लम्बाइ-चौडाइलाई दोष दिन्छ। पुरुषको मनमा महिलाप्रति कुविचार नआओस् भनेर महिलाले आफू संयममा बस्नुपर्ने तर पुरुषका लागि संयमको कुनै मापदण्डै छैन। पुरुषले रक्सी खाएर चौबाटोमा श्रीमती कुटे पनि सही मानिदिनुपर्ने सोचले केही व्यक्ति ग्रस्त छन्।
यस्तोमा पुरुष हिंसाको खुलेरै विरोध गर्ने र महिलाको पक्षमा आवाज उठाउने अन्सारीको विषयमा बनाइएको भिडियोलाई दोषी चश्मा भएकाहरुले प्रायोजित देखिरहेका छन्। त्यही भिडियो आफ्नोबारेमा बनेको भए वाहवाही गर्दै प्रचारमा व्यापक पार्न उनीहरुलाई फुर्सद नहुँदो हो। तर, त्यसका लागि त उनीहरु लायक हुनुपर्यो नि! आफू कुनै अमूक राजनीतिक दलको झोलामा लुटपुटिएकाहरुलाई अरुको निष्पक्षता र चर्चा विष हुने नै भयो! आफ्नो कर्मपथमा तल्लीन मोहनालाई बदनाम गरेर विचलित गराउन खोज्नेहरुले बुझ्नुपर्छ, मोहनालाई उनको सुकर्मले मोहनी लगाएको छ। मोहनाप्रति जनमानसको विश्वास अक्षुण्ण छ।
हामीमध्ये धेरैको इच्छा र चाहना हो, मोहना अहिलेको स्थानभन्दा पनि माथि पुगून्। अझ देशकै सर्वोच्च पदमा पुगून्। राष्ट्रपति बनून् र दिशाहीन सीमान्तकृत समुदाय र महिलालाई एउटा गन्तव्यमा पुर्याऊन्। हामीलाई यो पनि विश्वास छ, उनी देशको सर्वोच्च पदमा पुगिन् भने महिलालाई न्याय दिलाउन र यसका पक्षमा कानुन बनाउन जोड दिनेछिन्। त्यसैले उनको सुन्दर भविष्यलाई तहसनहस पार्न आज सफलताको बाटोमा हिँडिरहेको उनको यात्रामा भाँजो हालिँदै छ।
समाजमा केही मानिस यस्ता हुन्छन्, जो आफू त अरुका लागि काम आउँदैनन् नै, अरुको यात्रामा अवरोध गरेर गाडी पन्चर गर्ने किला-कंकड बनेर जिन्दगी बिताउँछन्। मोहना अन्सारीको बारेमा छापिएको समाचार उनको तेजोबध गर्न लेखिएको पूर्वाग्रही र भ्रामक सामग्री मात्र हो। यस्ता समाचार लेख्ने, छाप्ने र दुष्प्रचारमा ल्याउनेहरु सबै चामल बन्न नसकेका कंकडहरु हुन्। मोहना अन्सारी सग्लो चामल हुन् र सधैंभरि सग्लै र अग्लै रहिरहनेछिन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।