दुबई- राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार दुबईस्थित बुर्ज खलिफाको भ्रमण गरेकी छन्।
राष्ट्रपति भण्डारी बुर्ज खलिफा पुग्दा उनको स्वागतार्थ अरमानी होटेल एन्ड रिसोर्टका शिष्टाचार अधिकारीहरूको उपस्थिति थियो।
उक्त अवसरमा राष्ट्रपति भण्डारीले भवनको १५२ औँ तलास्थित स्वागत कक्षमा राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरिन्। राष्ट्रपति भण्डारीका साथ आपूर्तिमन्त्री जयन्त चन्द पनि सहभागी थिए।
नेपालका लागि संयुक्त अरब इमिरेट्स (युएई)का राजदूत सइद हमदन अलनक्वी तथा युएईका लागि नेपालका कार्यवाहक राजदूत नेत्रबहादुर टण्डन पनि उक्त अवसरमा उपस्थित भएका थिए।
‘बुर्ज खलिफा’ उद्घाटनपूर्व ‘बुर्ज दुबई’को नामबाट पनि चिनिन्थ्यो। यो संयुक्त अरब इमिरेट्स (युएई) को निकै अग्लो भवन हो। यसमा १६४ तला रहेको छ।
‘बुर्ज खलिफा’को कूल उचाइ ८२९.८ मिटर अर्थात दुई हजार २१७ फिट रहेको छ। सन् २००८ को अन्त्यतिर निर्माण सम्पन्न भएपछि यो संसारको सबैभन्दा अग्लो संरचनामा गनिन पुग्यो।
‘बुर्ज खलिफा’को निर्माण २००४ मा आरम्भ भएको हो र सन् २००९ मा यसको बाहिरी भाग पूर्ण भएको हो। बाहिरी भागलाई कङ्क्रिटले बलियो बनाइएको छ।
दुबई सरकारले तेलमा आधारित मुलुकको अर्थतन्त्रबाट मुक्ति पाउन र यस अमिरातलाई अन्तर्राष्ट्रिय स्तरमा चिनाउन यो संरचना निर्माण गर्ने योजना बनाएको हो।
राष्ट्रपति भण्डारी संयुक्त अरब इमिरेट्स (युएई) को अबुधावीका युवराज तथा युएईको सशस्त्र बलका नायब सर्वोच्च कमान्डर शेख महम्मद बिन जाहेद अल नेह्यानको मैत्रीपूर्ण निमन्त्रणामा सोमबार साँझ अबुधावी पुगेकी हुन्। नेपाल र युएईबीच कूटनीतिक सम्बन्ध स्थापनाको ४० औँ वार्षिकोत्सवको सन्दर्भमा राष्ट्रपतिबाट यो भ्रमण भइरहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
राष्ट्रपति भण्डारीका साथ उनकी छोरी निशाकुसुम भण्डारी, परराष्ट्र मामिला विज्ञ डा मदनकुमार भट्टराई, परराष्ट्र सचिव शंकरदास वैरागी, राष्ट्रपति कार्यालयका सचिव भूपेन्द्रप्रसाद पौडेल, प्रमुख स्वकीय सचिव भेषराज अधिकारी र राष्ट्रपतिको कार्यालय एवं परराष्ट्र मन्त्रालयका उच्च अधिकारीका साथै सञ्चारमाध्यमका प्रतिनिधिहरु भ्रमणमा सहभागी छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।