काठमाडौं– निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्न दिने/नदिने विषयमा निर्वाचन आयोग अन्यौलमा परेको छ। चुनावमा खटिने कर्मचारीको मताधिकार सुरक्षित गर्न सर्वोच्च अदालतले आदेश दिए पनि निर्वाचन आयोगले सो विषयमा अझै निर्णय गर्न सकेको छैन।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले दुई चरणमा निर्वाचन हुने भएकाले चुनावमा खटिने कर्मचारीलाई मतदान गर्न दिन अप्ठ्यारो रहेको बताएका छन्। आयोगको केन्द्रीय कार्यालयमा पत्रकारसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले संघ र प्रदेशको निर्वाचनको समय र मतपत्रको संख्यालाई आधार बनाउँदा कर्मचारीलाई मतदान गर्न दिन समस्या रहेको उल्लेख गरे। आयोगले मंसिर १० र २१ गते हुने निर्वाचनमा २ लाख भन्दा बढीको संख्यामा कर्मचारी, शिक्षक र सुरक्षाकर्मी परिचालन गर्ने तयारी गरेको छ।
निर्वाचनमा खटिने कर्मचारीलाई मतदान गर्न दिने विषय संविधानमै उल्लेख भए पनि त्यसको व्यवस्थापन चुनौतीपूर्ण रहेको प्रमुख आयुक्त यादवको भनाइ छ। चुनावमा खटिने कर्मचारीको मतदाता नामावली तयारी लगायतका काम कठिन रहेको उल्लेख गर्दै यादवले त्यसका लागि आयोग प्रयासरत रहेको जनाए।
पहिलो र दोस्रो चरणको निर्वाचनमा कर्मचारी दोहो¥याएर खटाइने भएकाले कर्मचारीलाई मताधिकार दिने विषयमा समस्या उत्पन्न भएको आयोगले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।