काठमाडौं- मंसिर १० र २१ मा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा मतदान गर्न साढे २ मिनेटको समय लाग्ने देखिएको छ। निर्वाचन आयोगले बुधबार केन्द्रीय कार्यालयमा आयोजना गरेको नमूना मतदान कार्यक्रममा मतदानका लागि मतदातालाई साढे २ मिनेट समय लाग्ने देखिएको हो।
मतदानका लागि आवश्यक पर्ने समय र मतपेटिका राख्ने स्थान लगायतका विषयमा तयारी गर्न आयोगले आफ्नै कर्मचारीलाई नमूना मतदानमा सहभागी गराएको थियो।
निर्वाचन आयोगले प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा प्रत्यक्षतर्फ दुई वटा मतपत्रको व्यवस्था गरेको छ। हरियो रङ अक्षर भएको मतपत्र प्रतिनिधिसभा प्रत्यक्षतर्फका उम्मेदवार र कालो रङ अक्षर भएको मतपत्र प्रदेशसभाको प्रत्यक्षतर्फका उम्मेदवारका लागि तयार गरिएको छ।
प्रतिनिधि र प्रदेशसभा निर्वाचनको समानुपातिकतर्फको उम्मेदवारका लागि आयोगले एउटै मतपत्रको व्यवस्था गरेको छ। सो मतपत्रका लागि रातो रङको अक्षर प्रयोग गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।