गौशाला- अवैध चाँदी र हात्तीको पुच्छरसहित प्रहरीले आज महोत्तरीको बर्दिवासबाट दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा कैलाली टीकापुर नगरपालिका– १ का विश्राज तिवारी र कालिकोट तिलकनगर– ९ का लक्ष्मी कोइराला रहेको इलाका प्रहरी कार्यालय बर्दिवासका प्रहरी नायब उपरीक्षक प्रवीण पोखरेलले बताए।
प्राप्त सूचनाका आधारमा उनीहरुलाई बर्दिवासस्थित शिशमहल होटलबाट ९ किलो ४ सय ग्राम चाँदीको तयारी गरगहना र १५ हजार एक सय थान हात्तीको पुच्छर जस्तो देखिने वस्तुसहित पक्राउ गरेको प्रहरी नायब उपरीक्षक पोखरेलले बताए।
पक्राउ परेका दुवै जनालाई अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको छ। चाँदी राजस्व अनुसन्धान क्षेत्रीय कार्यालय पथलैया र हात्तीको पुच्छर जस्तो वस्तु जिल्ला वन कार्यालय महोत्तरीमा बुझाउने तयारी गरिहेको इलाका प्रहरी कार्यालय बर्दिवासले जनाएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।