गोरखा- नेपाली कांग्रेसका नेता तथा गोरखा प्रदेशसभा 'ख' का उम्मेदवार राजेन्द्र बजगाईंले निर्वाचन आचारसंहिताको धज्जी उडाएका छन्।
बजगाईंसहित कांग्रेसका महामन्त्री शशांक कोइराला र समानुपातिक उम्मेदवार हरिबहादुर घले उत्तरी गोरखाको काशीगाउँमा निर्वाचन प्रचारप्रसारमा हेलिकोप्टर चार्टर गरेर गएको पाइएको छ।
निर्वाचन आचारसंहितामा चुनावी प्रचारमा कतै जानुपरे निर्वाचन कार्यालयका साथै जिल्ला सुरक्षा समितिलाई जानकारी गराउनुपर्ने नियम छ। तर, बजगाईंसहितको टोली बिनाजानकारी प्रचारमा गएको जिल्ला सुरक्षा समितिका एक सदस्यले बताए।
उनीहरू आइतबार मध्याह्न १२ बजेतिर काशीगाउँ पुगेका थिए। केही समय प्रचारप्रसार र घरदैलो गरेपछि उनीहरु फर्केको एक स्थानीयले टेलिफोनमा बताए।
मुख्य निर्वाचन अधिकृतको कार्यालय गोरखाले यसको पुष्टि गर्दै मुख्य निर्वाचन अधिकृत वसन्तराज पौड्यालले भने, 'उत्तरी गोरखाका केही स्थानमा उहाँहरू जानुभयो भन्ने मौखिक सूचना आएको छ। हामी यसबारे थप अनुसन्धान गरिरहेका छौं।'
यसबारे बजगाईंसँग कुरा गर्न खोज्दा उनले कुरा गर्न चाहेनन् । बजगाईंले गोरखाको प्रदेशसभा 'ख' मा वाम गठबन्धनका उम्मेदवार रामशरण बस्नेतसँग प्रतिस्पर्धा गर्दै छन्।
विवादास्पद छविका र पार्टीभित्रै बिचौलिया भनेर चिनिएका बजगाईं केही समयअघि पनि आचारसंहिता विपरीत उत्तरी गोरखाका केही स्थानमा चुनावी प्रचारका लागि हेलिकोप्टर लिएर गएका थिए। त्यसबेला उनले हेलिकोप्टर आफैंले चार्टर गरेको नभई लिफ्ट मागेको प्रतिक्रिया दिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।