डडेल्धुरा– प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्ला डडेल्धुराका उम्मेदवारहरुले बहुप्रतीक्षित पश्चिम सेती जलविद्युत् आयोजनालाई मुख्य चुनावी एजेन्डा बनाएका छन्।
चुनाव नजिक आइरहँदा दलका उम्मेदवारहरुले मतदातामाझ आफूले जितेमा आयोजनाको निर्माण कार्य अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरिरहेका छन्।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार खगराज भट्टले पश्चिम सेतीको आयोजनाको काम अगाडि बढाउन स्थिर सरकार आवश्यक रहेको र त्यसका लागि वाम गठबन्धनलाई जिताउनुपर्ने बताए।
‘आयोजनाको काम ऊर्जामन्त्री जनार्दन शर्माको पालामा अघि बढेको हो’, भट्टले भने, ‘राष्ट्रिय गौरवको यो आयोजनालाई अघि बढाउन मतदाताले हामीलाई नै जिताउनुपर्छ।’
पश्चिम सेती आयोजना निर्माणका लागि नेपाल विद्युत् प्राधिकरण र चीनको थ्री गर्जेज इन्टरनेसनल कर्पोरेसनबीच संयुक्त उपक्रम सम्झौता भइसकेको छ।
यता लोकतान्त्रिक गठबन्धनका तर्फबाट प्रदेशसभा सदस्यका उम्मेदवार कर्णबहादुर मल्लले पश्चिम सेती आयोजना नेपाली कांग्रेसले अघि बढाएको र यसबारे आफूले पटकपटक बोलेको बताए।
मल्लले आयोजना दुई देशबीचको सहमतिको आधारमा अघि बढ्ने सन्दर्भ जोड्दै प्रधानमन्त्री देउवाले विभिन्न समय गरेको चीन भ्रमणमा यसले प्राथमिकता पाएको दाबी गरे।
यस्तै, नेकपा एमाले जिल्ला अध्यक्ष तथा वाम गठबन्धनको तर्फबाट प्रदेशसभा ‘ख’ का उम्मेदवार डा तारा जोशीले भिजन डडेल्धुरा नै बनाई राष्ट्रिय गौरवको आयोजनालाई अगाडि बढाउन आफूले मात्र सक्ने दाबी गरेका छन्। आफ्नो पार्टीले आयोजना क्षेत्रको पोखरा–बेलापुर सडकलाई अहिले पनि मुख्य प्राथमिकतामा राखेको उनको भनाइ छ।
मतदातालाई आफूतिर तान्न सबै दलका उम्मेदवारले पश्चिम सेतीलाई मुख्य एजेन्डा बनाउँदै गाउँगाउँमा सुनाइरहँदा यसलाई चुनावी नारा मात्रै नबनाई कार्यान्वयनमा ल्याउन नागरिकले आग्रह गरेका छन्।
प्राधिकरण र थ्री गर्जेजबीच आयोजना निर्माणका लागि सम्झौता भइसके पनि काम भने सुरु हुन सकेको छैन। आयोजनामा थ्री गर्जेजले ७५ प्रतिशत र प्राधिकरणले २५ प्रतिशत लगानी गर्नेछन्।
सरकारले शत प्रतिशत सेयर चिनियाँ कम्पनीको हुनुपर्ने गरी सुरुमा गरेको समझदारी उल्टाउँदै संसद्को तत्कालीन प्राकृतिक स्रोतसाधन समितिले प्राधिकरणमार्फत सरकारको कम्तीमा २५ प्रतिशत सेयर हुनुपर्ने निर्देशन दिएको थियो । सोही निर्देशनका कारण दुवै पक्षबीच पाँच वर्षसम्म सम्झौता हुन नसकी आयोजना अघि बढ्न सकेको थिएन।
सम्झौतामा लगानी बोर्डले स्वीकृति दिएपछि र नेपाल राष्ट्र बैंकले थ्री गर्जेजबाट हालसम्म भएको खर्च पुँजीकरण गर्ने सहमति दिएपछि संयुक्त उपक्रम कम्पनी दर्ता हुने उल्लेख छ। यसरी दर्ता भएको कम्पनीले नै पश्चिम सेती जलविद्युत् आयोजना निर्माण गर्नेछ।
प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनका लागि डडेल्धुरामा प्रधानमन्त्री तथा कांग्रेस सभापति देउवा बाहेक सबै उम्मेदवार भोट माग्न व्यस्त छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।