काठमाडौं– चुनावी प्रचारप्रसारको कार्यक्रमबाट फर्कँदै गर्दा माओवादी केन्द्रका नेता वर्षमान पुनमाथि आक्रमण भएपछि प्रहरीले गोली चलाएको छ।
जिल्लाको दुईखोली गाउँपालिकामा नेता पुनमाथि आक्रमण प्रयास भएको हो।
‘अज्ञात समूहले भीरबाट ढुंगा खसालेर आक्रमण गरेपछि प्रहरीले हवाई फायर गरेको हो’, रोल्पाका डिएसपी ज्ञानेन्द्र फुयालले भने, ‘कोही पनि घाइते भएका छैनन्।’
घटनामा विप्लव नेतृत्वको माओवादी संलग्न रहेको आशंका गरिएको छ। विप्लव समूहले भने अहिलेसम्म घटनाको जिम्मा लिएको छैन। कार्यक्रममा सहभागीहरुले अज्ञात समूहले गोली समेत चलाएको बताएका छन्।
घटनास्थलमा राम्रोसँग फोन पनि नलाग्ने भएकाले विस्तृत विवरण आउन बाँकी रहेको डिएसपी फुयालले बताए।
यसैबीच, प्रहरीले घटनास्थल क्षेत्रबाट खोजी गरेर विप्लव माओवादी जिल्ला इन्चार्ज लगायत चार नेतालाई पक्राउ गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।