काठमाडौं- राष्ट्रिय पुनर्निमाण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत (सिइओ) युवराज भुषालको नियुक्ति खारेजीको माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ।
प्राधिकरणका पूर्व सिइओ सुशील ज्ञवालीले भुषालको नियुक्ति गैरकानुनी भएको दाबी गर्दै खारेजीको आदेशका लागि सर्वोच्चमा रिट दायर गरेका हुन्। गोविन्द पोखरेलको राजीनामा स्वीकृत गरी बाँकी अवधिका लागि युवराज भुषाललाई नियुक्ति गर्नु कानुनसम्मत नभएकाले नियुक्ति बदर गर्न रिटमा माग गरिएको छ।
प्राधिकरणका पूर्व सिइओ पोखरेलले प्रतिनिधिसभा निर्वाचनमा प्यूठानबाट उम्मेदवार हुन राजीनामा दिएपछि मन्त्रिपरिषद्ले गत कात्तिक ६ गते उनको राजीनामा स्वीकृत गर्दै पूर्व अर्थसचिव युवराज भुषाललाई सिइओ नियुक्त गरेको थियो। उनी नियुक्त भएको २० दिनपछि नियुक्ति खारेज गर्न रिट परेको हो।
पूर्व सिइओ ज्ञवालीले यसअघि पनि सर्वोच्चमा रिट हालेका थिए। मन्त्रिपरिषद्को ०७२ पुस १० गतेको निर्णयबाट पाँच वर्षको पदावधि हुनेगरी प्राधिकरणमा आफूलाई नियुक्त गरे पनि त्यसको एक वर्षमै गैरकानुनी रुपमा हटाएर पोखरेललाई सिइओ नियुक्त गरिएको भन्दै उनले ०७३ माघ ४ गते रिट हालेका थिए। सो मुद्दा हालसम्म विचाराधीन छ।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।