काठमाडौं- पूर्वप्रधानमन्त्री कीर्तिनिधि विष्टको निधन भएको छ। ९१ वर्षीय विष्टको आफ्नै निवास नक्सालमा आज बिहान निधन भएको हो।
विगत ८ महिनादेखि बिरामी भएर उनी नक्सालस्थित निवासमा आराम गर्दै आएका थिए। पारिवारिक स्रोतका अनुसार, शुक्रबार राति खाना खाने क्रममा ८ पटक बान्ता गरेपछि उनको स्वास्थ्य थप नाजुक बनेको थियो।
‘रातिदेखि नै उहाँको चेत हराइसकेको थियो’, विष्टका छोरा विनोद विष्टले नेपाल लाइभसँग भने। विष्ट पुस १६ गते ९२ वर्ष लाग्दै थिए।
सन् २००८ मा उनलाई सेप्टीसेमिया (रगतको संक्रमण) भएको थियो। यस्तै, २००९ मा उनको शरीरमा ग्यास्ट्रो इन्टेस्टाइनल ट्युमर भेटिएपछि भारतको अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) मा अपरेसन गरिएको थियो।
०६१ माघ १९ मा राजा ज्ञानेन्द्रले शासन सत्ता लिएपछि विष्ट मन्त्रिपरिषदको उपाध्यक्ष बनेका थिए।
पञ्चायतकालमा उनी तीन पटक प्रधानमन्त्री बनेका थिए। ०२५-२६, ०२८-३० र ०३४-३६ सालमा उनले प्रधानमन्त्रीको कार्यभार सम्हालेका थिए। ०३० सालमा सिंहदरबार आगलागी हुँदा विष्टले नैतिकताको कारण जनाउँदै पदबाट राजीनामा दिएका थिए।
यसैबीच, प्रधानमन्त्री शेरबहादुर देउवाले पूर्वप्रधानमन्त्री विष्ट सादगी र निष्ठाको प्रतीक भएको भन्दै उनको निधनप्रति दु:ख व्यक्त गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।