काठमाडौं- नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनमा ७२ सिटमा विजयी हात पार्ने आन्तरिक मूल्यांकन गरेको छ। केन्द्रीय निर्वाचन परिचालन समितिले तयार गरेको प्रतिवेदनमा प्रतिनिधिसभाका १ सय ६५ सिटमध्ये ७५ सिट कांग्रेसले जित्ने दाबी गरिएको हो।
केन्द्रीय निर्वाचन परिचालन कमिटीका संयोजक बालकृष्ण खाँणले कांग्रेसको संगठन, विगतको मत विवरणलाई आधार मानेर प्रतिवेदन तयार गरिएको जानकारी दिए।
'कांग्रेसको संगठन, उम्मेदवारको लोकप्रियता र विगतका निर्वाचनमा प्राप्त मतलाई आधार मानेर प्रतिवेदन तयार भएको हो,' नेता खाँणले नेपाल लाइभसँग भने।
चुनावी तालमेलका कारणले पनि ७२ सिट दाबी गरिएको कांग्रेस नेता महेश आचार्यले बताए। 'कांग्रेसले राप्रपा, राप्रपा प्रजातान्त्रिक र मधेस केन्द्रित दलहरुसँग गरेको चुनावी सहकार्यले हामी ७२ सिट सुरक्षित गर्न सक्छौँ भन्ने निष्कर्षमा पुगेका हौँ,' नेता आचार्यले भने।
मंसिर १० र २१ मा दुई चरणमा हुन लागेको १ सय ६५ प्रतिनिधिसभा निर्वाचन क्षेत्रमध्ये १ सय ५४ मा कांग्रेसले आफ्ना उम्मेदवार उठाएको छ। राप्रपा र राप्रपा प्रजातान्त्रिकसँग देशभर चुनावी तालमेल गरेको छ भने संघीय समाजवादी फोरम र राजपासँग केही निर्वाचन क्षेत्रमा तालमेल छ।
कांग्रेसले लोकतान्त्रिक गठबन्धनमा रहेको राप्रपा र राप्रपा प्रजातान्त्रिकलाई ४- ४ सिट छोडेको छ। राजपा अध्यक्ष महन्थ ठाकुरालाई महोत्तरी-३ मा सहयोग गर्ने भएको छ। यस्तै, संघीय समाजवादी फोरमका नेता अशोक राईलाई सुनसरी-१ मा कांग्रेसले सहयोग गर्नेछ। यस्तै गोरखा-२ मा नयाँ शक्ति नेपालका संयोजक बाबुराम भट्टराईलाई कांग्रेसको सहयोग छ।
कांग्रेसले सबैभन्दा बढी प्रदेश-२ बाट १६ सिट आउने दाबी गरेको छ। कांग्रेसको मूल्यांकन अनुसार प्रदेश-१ मा १२, प्रदेश-३ मा १२, प्रदेश-४ मा १०, प्रदेश-५ मा १२, प्रदेश-६ मा ४ र प्रदेश-७ मा ७ सिट जित्ने दाबी छ।
निम्न स्थानमा जित हात पार्ने कांग्रेसको दाबी छ
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।