चितवन- नारायणगढ-मुग्लिन सडक विस्तारका लागि आउँदो आइतबारदेखि सवारी रोकेर भित्तो काट्ने कामलाई निरन्तरता दिइने भएको छ। सडक आयोजनाका प्रमुख चन्द्रनारायण यादवका अनुसार सवारी चाप कम भएको समय पारेर केहीबेर सवारी रोकी भित्तो काट्ने योजना तय गरिएको छ।
उनका अनुसार बिहान ७ देखि ८:३० बजेसम्म, ११ बजेदेखि १२ बजेसम्म, दिउँसो १ बजेदेखि २ बजेसम्म र दिउँसो ३ बजेदेखि ४ बजेसम्म गरी जम्मा साढे ४ घन्टा सवारी बन्द गर्नुपर्ने हुन्छ।
वर्षा र चाडपर्वको समय परेका कारण झन्डै दुई महिनायतादेखि भित्तो काट्ने काम रोकिएको थियो। भदौ २८ गतेदेखि भित्तो काट्ने काम रोकेर सवारी सञ्चालन गरिँदै आएको थियो। त्यसअघि दिनको समयमा सवारी रोकेर भित्तो काट्ने काम गरिएको थियो। स्थानीय प्रशासन, प्रहरी, आयोजना र ठेकेदार कम्पनीहरूका बीचमा भएको संयुक्त छलफलपछि छोटो समय सवारी रोकर भित्तो काट्ने कामलाई निरन्तरता दिने सहमति भएको यादवले बताए।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तका अनुसार भित्तो काट्ने समयमा सवारी रोक्नका लागि रामनगर प्रहरी, प्रहरी चौकी जुगेडी, अस्थायी प्रहरी पोष्ट सिमलताल र इलाका प्रहरी कार्यालय मुग्लिनलाई जिम्मेवारी दिइएको छ।
सडकको नारायणगढबाट १६ किलोमिटरमा तीन सय मिटर, घुमाउनेमा दुई सय मिटर, चेपाङ डाँडा र जलवीरेमा गरी तीन सय मिटर क्षेत्रमा सडक चौडा गर्न बाँकी छ। ती ठाउँहरूमा पनि काम आधाभन्दा बढी भएकाले लामो समय नलाग्ने आयोजनाका इञ्जिनियर शिव खनालले बताए।
सडक चौडा गर्न चेपाङ डाँडा र जलवीरेमा कठिन भएकाले ती ठाउँमा भने केही बढी समय लाग्ने देखिएको छ। खनालले तीन नम्बरमा पर्ने ती ठाउँमा तोकिएको समयमा काम सम्पन्न हुन कठिन देखिए पनि आउँदो वर्षाअघिसम्म भने काम सकिने बताए।
हालसम्म ५८ प्रतिशत मात्रै काम भएको छ। आयोजनाका इञ्जिनियर खनालका अनुसार सबै ठाउँमा तीन तहको कालोपत्र गर्नुपर्ने हुन्छ। एक दिनमा तीन सय मिटर हाराहारीका दरले कालोपत्र गर्न सकिएको उनले बताए। आगामी फागुन मसान्तसम्ममा कालोपत्र गर्ने काम सक्ने गरी काम भइरहेको छ।
नारायणगढ–मुग्लिन सडक खण्डको ३४ किलोमिटर खण्ड फराकिलो बनाइँदैछ । नारायणगढबाट १६ किलोमिटरसम्म सडक ११ मिटर फराकिलो हुनेछ भने त्यहाँबाट मुग्लिनसम्म ९ मिटर फराकिलो सडक बनाइँदैछ। सडकको सबै भाग कालोपत्र गरिनेछ।
यसैबीच, यही कात्तिक २५ गते शनिबार नारायणगढ–मुग्लिन सडक खण्ड दिउँसो ७ घन्टा बन्द हुने भएको छ। सो सडक खण्डको सेतीदोभानमा ठूलो ढुंगा सडकमा झर्न सक्ने देखिएकाले त्यसलाई व्यवस्थापन गर्न एक दिनका लागि दिउँसोको समयमा सवारी साधन आवागमन बन्द गर्न लागिएको हो। बिहान १० बजेदेखि अपरान्ह ५ बजेसम्म आवागमन रोकेर काम गरिने भएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।