नयाँ दिल्ली- भारतको नयाँ दिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा इन्डिगो एयरलाइन्सका कर्मचारीले यात्रुलाई दुर्व्यवहार गरेको भिडियो भाइरल भएको छ। घटनाबारे व्यापक चर्चा-परिचर्चा भएपछि सरकारले छानबिनका लागि सरकारले छानबिन समिति गठन गरेको छ।
दुर्व्यवहारको घटना भने करिब एक महिना अगाडिको हो । भारतको चेन्नईबाट इन्दिरा गान्धी विमानस्थलमा अवतरण गरेका एक यात्रुलाई विमानस्थलमै इन्डिगो एयरलाइन्सका कर्मचारीले लछारपछार पारेका थिए। सो भिडियो मंगलबार सार्वजनिक भएपछि भारतका साथै अन्य देशमा समेत भाइरल भएको छ।
भिडियोमा एक यात्रुलाई एअरलाइन्सका कर्मचारीले विमान अवतरण गरेपछि बाहिर निस्किने क्रममा गलहत्याउँदै बाहिर निकालेका छन्। यात्रुलाई हातपात गर्नुका साथै गालीगलौज पनि गरिएको देखिन्छ।
सो भिडियो भाइरल भएपछि सो एयरलाइन्सले सार्वजनिकरुपमा माफी मागेको छ। तर, सर्वसाधारण यात्रुमाथि गरिएको सो दुर्व्यवहारप्रति भारतभर बढेको आक्रोश अझै थामिएको छैन।
भारत सरकारले उक्त घटनाको छानबिन गर्न बुधबार बिहान एक छानबिन समिति गठन गरेको हो। भारतीय नागरिक उड्डयन मन्त्री अशोक गजापतिले एयरलाइन्स जस्तो सार्वजनिक सेवा प्रदायक निकायबाट यात्रुप्रतिको व्यवहार निन्दनीय भनेका छन्।
उनले भने, 'हामीले यस घटनाको छानबिन सुरु गरिसकेका छौं। दोषीमाथि कारबाही हुन्छ।' रासस/सिन्ह्वा
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।