इटहरी– वाम गठबन्धनबाट प्रदेश-१ का भावी मुख्यमन्त्रीको दाबेदार शेरधन राईले पूर्वसांसद् रेवतीरमण भण्डारीलाई प्रतिनिधि तथा प्रदेशसभामा प्रत्यक्ष तथा समानुुपातिकमा उम्मेदवार नबनाएर अन्याय भएको बताएका छन्।
मंगलबार इटहरी आएका राईले सुनसरी-२ मा रेवती भण्डारी मात्रै उपलब्ध उम्मेदवारमध्ये बलियो भएको र संविधान निर्माण बेला महत्वपूर्ण भूमिका निर्वाह गरेको हुनाले पार्टीले न्याय गर्नुपर्ने धारणा राखे।
‘धेरै आकांक्षीहरु मध्ये भण्डारीले मात्रै प्रस्ट जित्ने आधार थियो’, उनले भने, ‘तर उहाँलाई टिकट नदिएर माओवादीलाई दिएपछि नयाँ अनुहारलाई जनताको मन जित्न धेरै समय लाग्छ।’
सुनसरीको २ नम्बर क्षेत्रका तटस्थ मतहरु रेवती भण्डारीकै बढी भएको बताएका राईले उनको उम्मेदवार नहुँदा जित निकाल्न असहज हुने तर्क राखे।
माओवादीले सुनसरीको वाम तालमेलमा क्षेत्र नम्बर-१ र ४ मा एउटा मागेको बताउँदै माओवादीले माग्दै नमागेको २ नम्बर क्षेत्रमा माओवादी उठाएर प्रदेश इन्चार्जले गल्ती गरेको आरोप राईले लगाए।
दोस्रो संविधानसभा निर्वाचनमा कांग्रेसका बद्रीनारायण चौधरीसँग ७ हजारभन्दा बढीको फराकिलो मतान्तरले भण्डारीले जित हासिल गरेका थिए। भण्डारी कानुनको प्राध्यापकसमेत रहेका अनुभवी नेता हुन्। नेपालको संविधान निर्माणमा कानुनहरु बनाउने महत्वपूर्ण भूमिका निर्वाह गर्ने थोरै सांसदमा भण्डारी पनि थिए।
एमाले स्रोतका अनुसार पहिलो पटक सांसद् हुँदै राम्रो इमेज बनाएका भण्डारीको उदयले आफ्नो राजनीति खतरामा भएको महसुस गर्दै एमाले सचिव तथा प्रदेश-१ का संयोजक भीम आचार्यले जानाजान भण्डारीको नाम काटेका हुन्।
आचार्यलाई स्थानीय चुनावमा पनि पैसा लिएर टिकट वितरण गरेको आरोप लागेको थियो। सुशील कोइराला प्रधानमन्त्री हुँदा पर्यटनमन्त्री समेत भएका आचार्य ६ महिनामै आर्थिक रुपमा विवादित बनेपछि फिर्ता बोलाइएका थिए। आफूलाई फिर्ता बोलाउनुमा झलनाथले गद्दार गरेको भन्दै आचार्यले सुनसरीमा पत्रकार सम्मेलन गरेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।