काठमाडौं– सिन्धुपाल्चोक–१ का कांग्रेस उम्मेदवार बहालवाला सञ्चारमन्त्री मोहनबहादुर बस्नेत पूर्व सञ्चारमन्त्री एवं माओवादी नेता अग्नि सापकोटासँग चुनावी प्रस्पिर्धामा छन्। उनले सोमबार जलबिरेमा भएको चुनावीसभालाई सम्बोधन गर्दै भने, ‘कांग्रेसको जिम्मा तपाईंहरू लिनुहोस्, विकासको जिम्मा म लिन्छु ।’
दोस्रो संविधानसभा निर्वाचनमा एमालेसँग टक्कर गर्दै विजयी भएका बस्नेतले यसपटक आफूलाई सापकोटाले चुनौती दिन नसक्ने दाबी गरे। उनले आफ्नो कसैसँग प्रतिस्पर्धा नहुने, स्वतः चुनाव जित्ने बताए।
‘म यस क्षेत्रबाट हरेक पटक उठ्दै आएको छु,’ बस्नेतले भने, ‘यो क्षेत्रका लागि अग्नि सर नयाँ उम्मेदवार हो।’ आफूले यस क्षेत्रको विकासका लागि १० वर्षदेखि लगानी गरेको बताउँदै मतदाताले जिताउनेमा ढुक्क रहेको बस्नेतको दाबी थियो।
स्थानीय तह निर्वाचनको नजिता वाम गठबन्धनतिर ढल्केको देखिए पनि प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा त्यस विपरीत नजिता आउने बस्नेतको भनाइ थियो।
क्षेत्र–१ मा स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत हेर्ने हो भने, कांग्रेस दोस्रो स्थानमा छ। माओवादी केन्द्र तेस्रो र एमाले पहिलो स्थानमा।
जिल्लाबाट दुई पटक चुनाव जितेका बस्नेत पहिलो संविधानसभा निर्वाचनमा पराजित भएका थिए। दोस्रो संविधानसभा निर्वाचनमा बस्नेतले एमाले उम्मेदवार अरुण नेपाललाई हराएका थिए। अहिले बस्नेतलाई राप्रपाको पनि समर्थन छ।
रहेका चौतारा सागाचोकगढी नगरपालिको ५ वटा वडासहित सात वटा स्थानीय तह रहेको क्षेत्र नम्बर–१ मा स्थानीय तहको मत हेर्दा वाम गठबन्धन बलियो छ। गठबन्धनको मत ४३ हजार १ सय १२ छ भने लोकतान्त्रिक गठबन्धनको २४ हजार २ सय १३ मत छ। उक्त मतान्तरलाई कम गर्दै बस्नेतलाई निर्वाचन जित्ने चुनौती छ। उनी टिकट नपाएका एमालेका असन्तुष्ट नेताहरुको पक्षमा रहेको मत ल्याएर चुनाव जित्ने रणनीतिमा छन्। यस्तै, सापकोटालाई स्थानीय तहमा प्राप्त मत संरक्षण गरेर आफू अझ दरिलो बन्नुपर्ने चुनौती छ।
क्षेत्र नम्बर–१ मा १ लाख १४ हजार ३ सय २३ मतदाता छन्। यो मतलाई हेर्दा पनि प्रमुख दुई शक्ति मात्रै भएकाले चुनाव जित्नका लागि कम्तिमा ५० हजार मत ल्याउनुपर्ने देखिन्छ। स्थानीय तह चुनावपछि जिल्लामा मतदाताको संख्या समेत थपिएको छ। त्यो मतले पनि जित–हारमा भूमिका खेल्नेछ।
सिन्धुपाल्चोकमा २०४८ सालदेखिका निर्वाचनमा एमालेको मत स्थिर छ। वाम गठबन्धनका उम्मेदवार सापकोटा भने आफूहरू स्थर सरकार र भष्टाचारमुक्त क्षेत्र बनाउने अभियानमा भएकाले सबैले साथ दिनेमा विश्वस्त छन्।
क्षेत्र नम्बर–१ को प्रदेशसभा (क) मा वाम गठबन्धनका तर्फबाट एमालेका अरुण नेपाल र कांग्रेसका विष्णुबहादुर खत्री र प्रदेशसभा (ख) वाम गठबन्धनबाट एमालेका सरेश नेपाल र कांग्रेसका राजेन्द्रकुमार श्रेष्ठ चुनावी मैदानमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।