काठमाडौं- वाम गठबन्धनका मुख्य नेता एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' कांग्रेसप्रति फरक ढंगले प्रस्तुत भएका छन्।
राजधानीको तीनकुनेमा घोषणापत्र सार्वजनिक गर्ने कार्यक्रममा कांग्रेसप्रति ओली र प्रचण्डको प्रस्तुति फरक देखिएको हो। घोषणापत्रमा वाम गठबन्धनप्रति आक्रामक बनेको कांग्रेसप्रति एमाले अध्यक्ष ओली गरम थिए भने माओवादी अध्यक्ष प्रचण्ड नरम देखिए।
एमाले अध्यक्ष ओलीले लोकतन्त्रको पहरेदार आफूलाई मात्र नठान्न भन्दै कांग्रेसप्रति घोचपेच गरे।
'लोकतन्त्र कसैले हामीलाई उपहार दिएको होइन, मुलुकमा लोकतान्त्रिक व्यवस्था ल्याउन हामीले पनि संघर्ष गरेका छौं', ओलीले भने।
यस्तै, वाम गठबन्धनबाट अत्तालिएर अनर्गल प्रचार र रुवावासी नगर्न उनले कांग्रेसलाई सुझाए। दुई दलको गठबन्धन अधिनायकवाद ल्याउन नभई लोकतन्त्रको सुदृढीकरण गर्न भएको ओलीको भनाइ थियो।
'माओवादी र एमालेको संयुक्त सरकार पटकपटक बनेको छ, हामीले सरकार चलाउँदा कहिले अधिनायकवाद आयो?', ओलीले प्रश्न गरे 'हामी मिल्दा कांग्रेसमा रुवावासी किन मच्चिएको? किन पैताला बजारेको? किन कपाल लुछेको? के झगडा गरेर लोकतन्त्र बलियो हुन्छ?'
कार्यक्रममा माओवादी अध्यक्ष प्रचण्ड भने कांग्रेसप्रति नरम थिए। वाम गठबन्धनले कसैलाई गालीगलौज नगर्ने उनले बताए। शान्तिपूर्ण प्रतिस्पर्धामा गठबन्धन संयमित ढंगले जाने उनको भनाइ थियो।
'कांग्रेसले गठबन्धनलाई गाली गरे पनि कुनै पार्टीप्रति तल्लो स्तरमा उत्रेर गालीगलौज गर्ने पक्षमा गठबन्धन छैन, हामी संयमित रुपमा चुनावी प्रतिस्पर्धामा जानुपर्छ', प्रचण्डले भने।
कांग्रेसले घोषणापत्रमा एमालेलाई उग्रवामपान्थी र व्यावसायिक घरनामा परिणत हुँदै गएको पार्टी भनेको थियो भने माओवादी केन्द्रलाई अवसरवादीको संज्ञा दिएको थियो।
घोषणापत्र चुनाव लड्न मात्रै होइन : वाम गठबन्धन
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको घोषणापत्र चुनाव लड्न नभई देश बनाउन भएको वाम गठबन्धनले दाबी गरेको छ।
राजधानीको तीनकुनेमा घोषणापत्र सार्वजनिक गर्दै वाम गठबन्धनका नेताहरुले आफ्नो घोषणापत्र राष्ट्र निर्माणको मार्गचित्र भएको बताएका हुन्।
संयुक्त रुपमा घोषणापत्र सार्वजनिक गर्दै एमाले अध्यक्ष केपी ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले राजनीतिक स्थायित्व र आर्थिक समृद्धिको मार्गचित्र घोषणापत्रमा रहेको बताए।
कार्यक्रममा एमाले अध्यक्ष केपी ओलीले गठबन्धनको घोषणापत्र संयुक्त राष्ट्रसंघको दीगो लक्ष्य प्राप्तिका एजेन्डासँग मिल्दो रहेको बताए। निर्वाचनपछि मुलुकमा वाम गठबन्धनको सरकार निर्माण हुने बताउँदै उनले घोषणापत्रको कार्यान्वयन गर्दै संयुक्त राष्ट्रसंघले परिकल्पना गरेको दीगो विकासको लक्ष्य हासिल गरेरै छाड्ने दाबी गरे।
'हामीले घोषणापत्र चुनाव लड्नका लागि मात्रै बनाएका होइनौँ यसको कार्यान्वयन गर्दै दीगो विकासको लक्ष्य प्राप्ति गराएरै छाड्ने हाम्रो प्रतिबद्धता छ', उनले भने।
वाम गठबन्धनको घोषणापत्र सर्वोत्कृष्ट रहेको ओलीको दाबी छ।
'सही उद्देश्य, सही नीति र सही विचार समावेश गरिएको घोषणापत्रमा महान् र पवित्र योजना समावेश गरिएको छ । ती सबै कार्यान्वनका लागि योग्य छन्, त्यसैले हाम्रो घोषणापत्र सर्वोत्कृष्ट छ', उनले भने।
यस्तै, माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले घोषणापत्र सामाजिक न्याय प्राप्ति, लोकतान्त्रिक सुदृढीकरण, पुनर्निर्माण, र औद्योगिक विकासमा केन्द्रित रहेको बताए।
वाम गठबन्धनले घोषणापत्र कार्यान्वयन गर्दै देशलाई समृद्धि र राजनीतिक स्थायित्वतर्फ लाने दाहालको भनाइ छ।
'समान पार्टी मिल्दा मुलुकमा राजनीतिक स्थायित्व हुन्छ । समान विचारका साथ हामीले घोषणापत्र निर्माण गर्यौं, त्यसको कार्यान्वयन गर्दै समृद्धितर्फ मुलुकलाई लानेछौं', उनले भने।
वाम गठबन्धनको घोषणापत्रमा तीव्र गतिको बुलेट रेलदेखि १० वर्षमा २० हजार मेगावाट विद्युत् उत्पादनको योजना समेटिएको छ।
आर्थिक विकासलाई तीव्ररुपमा अघि बढाउन जलस्रोत तथा ऊर्जा क्षेत्रमा राष्ट्रिय अभियानकै रुपमा विकास तथा आम विद्युतीकरण, आधुनिक प्रविधिसहित सडक, रेल, विमानस्थल, नहर लगायतका ठूला भौतिक पूर्वाधारहरुको तीव्र विकास, कृषि क्षेत्रको आधुनिकीकरण एवं व्यवसायीकरण, पर्यटन तथा उत्पादनशील उद्योग क्षेत्रको विकास लगायतका विषय घोषणापत्रमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।