काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कम्युनिस्टहरु मिल्दा पीडा मानेर कपाल लुछ्ने, खुट्टा बजार्ने कार्य नगर्न सुझाव दिएका छन्।
वाम गठबन्धनको आज घोषणापत्र सार्वजनिक गर्दै ओलीले प्रधानमन्त्री शेरबहादुर देउवा लगायत कांग्रेसका शीर्ष नेताप्रति लक्षित गर्दै अहिलेको समयमा जनता सचेत भएकाले यस्ता कार्य नगर्न सुझाव दिए। ओलीले लोकतन्त्र आफूले ल्याएको एकलौटी पेवा नसम्झन पनि कांग्रेसलाई आग्रह गरे।
'लोकतन्त्र कसैले तपाईहरुलाई मात्र उपहार दिएको होइन,' ओलीले भने, ' यसलाई ल्याउनमा हाम्रो पनि योगदान छ।’वाम गठबन्धन मुलुकमा अधिनायकवाद ल्याउन नभई समृद्धिका लागि भएकाले भ्रम सिर्जना नगर्न पनि उनले आग्रह गरे। ‘अहिलेको समयमा आएर दुष्प्रचार गर्ने प्रयास नगरौं,’ ओलीले भने, ‘अब जनाताहरु सचेत भइसकेका छन्।'
दलहरु एकापसमा झगडा गर्दा लोकतन्त्र बलियो नहुने भन्दै उनले निर्वाचनमा स्वस्थ प्रतिस्पर्धाका लागि मैदानमा आउन आग्रह गरे।
वाम गठबन्धनले जारी गरेको घोषणापत्र सर्वोत्कृष्ट र मुलुकको भविष्य कोर्ने प्रतिबद्धतापत्र भएको उनको दाबी छ।
घोषणापत्र सार्वजनिक कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष पुष्पमकल दाहालले देश कम्युनिस्टलाई बहुमत दिनेतर्फ गएको दाबी गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।