गोरखा- वाम गठबन्धन गोरखाले आज गोरखा बजारमा पत्रकार सम्मेलन गरी प्रहरीको दादागिरी नदेखाउन प्रशासनलाई चेतावनी दिएको छ।
माओवादी केन्द्रका गोरखा इन्चार्जसमेत रहेका गठबन्धन गोरखाका संयोजक चूडामणि खड्काले गाउँपालिका केन्द्रको विवादमा अनावश्यक मुद्दा लगाउने प्रयास गरिएको भन्दै प्रहरी प्रशासनका प्रमुखको कदम गलत रहेको आरोप लगाएका छन्।
आइतबार जिल्लाको भीमसेन गाउँपालिकाको कार्यपालिकास्तरको बैठकले गाउँपालिकाको केन्द्र बगुवाबाट घ्याम्पेशाल सार्ने निर्णय गरेको थियो। त्यसमा कार्यपालिका सदस्यको बहुमत थियो।
निर्वाचन आचारसंहितालाई नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताले पूर्ण रुपमा पालना नगरेको भन्दै उनले भने भीमसेन गाउँपालिका र जिल्लाकै चुमनुव्री गाउँपालिकामा भएको घटनाले निर्वाचनको धज्जी उडाएको आरोप लगाए।
'हातहतियारसहित कार्यपालिकाको बैठक बसेको स्थानमा हाम्रा साथीमाथि आक्रमण गर्ने काम भएको छ,' उनले भने, 'उता चुमनुव्रीमा काठमाडौँबाट हेलिकोप्टर चार्टर्ड गरी निर्वाचन आचारसंहिता उल्लंघन गर्ने काम भएको छ।'
राजनीतिक पार्टीहरु निर्वाचनबाट पराजितको अवस्थामा आएपछि निर्वाचन भाँड्न कांग्रेस क्रियाशील रहेको उनको आरोप छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।