तेह्रथुम- सुरक्षाको दृष्टिले तेह्रथुमका १३ वटा मतदानस्थल संवेदनशील रहेका छन्। जिल्ला सुरक्षा समितिले प्रतिनिधि र प्रदेशसभा चुनावमा सुरक्षाका दृष्टिले जिल्लाभरका विभिन्न गाउँका १३ मतदानस्थल संवेदनशील रहेको भन्दै छुट्टै सुरक्षा रणनीति बनाएको छ।
प्रदेश नम्बर १ मा पर्ने तेह्रथुममा दोस्रो चरणमा मंसिर २१ गते निर्वाचन हुँदैछ।
प्रतिनिधिसभामा कांग्रेसकी युवा नेतृ तथा भौतिक पूर्वाधार राज्यमन्त्री सीता गुरुङ र वाम गठबन्धनबाट एमालेका निवर्तमान सांसद भवानीप्रसाद खापुङको प्रतिस्पर्धात्मक उम्मेदवारी छ।
यस्तै, संघीय समाजवादी फोरम नेपालका तुलसीप्रसाद अधिकारी, नेकपा (माले)का डिल्लीबहादुर बुढाथोकी, राप्रपा प्रजातान्त्रिकका गौरीप्रसाद कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका शंकरमान लिम्बू, मंगोल नेशनल अर्गनाइजेशनका गंगाप्रसाद चोङ्वाङ, राष्ट्रिय जनमोर्चा पार्टीका हरिलाल अधिकारी, देशभक्त जनगणतान्त्रिक मोर्चाका कालीबहादुर फुदोङ, नयाँ शक्ति पार्टी नेपालका टंकबहादुर भट्टराई र राष्ट्रिय जनमुक्ति पार्टीका सागरनाथ रेग्मीको पनि उम्मेदवारी परेको छ।
यस्तै, प्रदेशसभा–१ मा नेपाली कांग्रेसका गोविन्द ढुंगाना, वाम गठबन्धनका लागि एमालेका जिल्ला अध्यक्ष लक्ष्मण तिवारी, संघीय समाजवादी फोरम नेपालका सूर्य मादेन, नेकपा (माले) का माधवप्रसाद खनाल, राप्रपा प्रजातान्त्रिकका धनराज कन्दङ्वा, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका देउनारायण सम्बाहाम्फे, नयाँ शक्ति पार्टी नेपालका विष्णुप्रसाद दाहाल, मंगोल नेशनल अर्गनाइजेशनका डालेश्वर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका वीरबहादुर थापाको उम्मेदवारी छ।
क्षेत्र नं २ मा कांग्रेसका विजय सम्बाहाम्फे, वाम गठबन्धनका तेजमान कन्दङ्वा, संघीय समाजवादी फोरम नेपालका मानध्वज सम्बाहाम्फे, राप्रपा प्रजातान्त्रिकका यशोदादेवी कार्की, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चका विष्णुकुमार लिम्बू, नयाँ शक्ति पार्टी नेपालका राजेन्द्र कन्दङ्वा, मंगोल नेशनल अर्गनाइजेशनका डम्बर लिम्बू र राष्ट्रिय जनमुक्ति पार्टी नेपालका तारादेवी थापाको उम्मेदवारी छ।
प्रतिनिधिसभामा एक क्षेत्र रहेको जिल्लाबाट प्रदेशसभा–१ मा म्याङ्लुङ नगरपालिका, लालीगुराँस नगरपालिका र छथर गाउँपालिका तथा प्रदेशसभा–२ मा फेदाप, मेन्छ्यायेम र आठराई गाउँपालिका पर्छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।