काठमाडौँ- गृहसचिव मोहनकृष्ण सापकोटाले सरकारको नीतिअनुसार सुरक्षा प्रदान गर्ने कार्यमा लाग्न निर्देशन दिएका छन्।
प्रहरी प्रधान कार्यालय नक्सालको अवलोकनका क्रममा उनले संघीयता लगायत बदलिँदो परिस्थितिमा परिवर्तनलाई आत्मसात गर्दै नीतिगत सुधार, ऐनकानुन परिमार्जन, क्षमता विकास, साधनस्रोत व्यवस्थापन गर्दै सशक्त भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए।
प्रहरी सेवालाई अझै बढी सशक्त बनाउन नेपाल प्रहरीका रचनात्मक सुझाव कार्यान्वयन गर्न संयन्त्र बनाई समस्या समाधान गरिने बताए।
आगामी निर्वाचन स्वच्छ, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्न सबै संयन्त्र तयार भएको जानकारी गराउँदै उनले अपराध नियन्त्रण, भयमुक्त समाजको निर्माण, नागरिकलाई सुरक्षाको अनुभूति दिलाउँदै प्रहरीको छविलाई अझै राम्रो बनाउनुपर्नेमा जोड दिए।
प्रहरी महानिरीक्षक प्रकाश अर्यालले नेपाल प्रहरीको संरचना, मानवस्रोत व्यवस्थापन, प्रहरी इकाइगत सञ्जाल, कार्यगत समूह, प्रहरी तालीमको स्थिति तथा कार्ययोजनाबारे जानकारी गराए।
उनले नेपाल प्रहरीमा स्वास्थ्य र कल्याण, संगठन सुधारमा वैदेशिक सहयोग, संघीयतामा प्रहरीको रुपान्तरण व्यवस्थापन, संगठन पुनःसंरचना, थप दरबन्दी प्रस्ताव, साधन स्रोतको आवश्यकता, सुरक्षा अवधारणाबारे जानकारी गराउँदै प्रहरी संगठनले गृह मन्त्रालयसँग राखेको अपेक्षासमेत प्रस्तुत गरे।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।