दाङ- मुख्य निर्वाचन अधिकृतको कार्यालय, दाङले राजनीतिक दल तथा उम्मेदवारलाई अनिवार्य रुपमा आचारसंहिता पालना गर्न आग्रह गरेको छ।
कार्यालयले सोमबार घोराहीमा राजनीतिक दल तथा उम्मेदवारलाई बोलाई निर्वाचन आचारसंहिता अनिवार्य रुपमा पालना गर्न आग्रह गरेको हो।
मुख्य निर्वाचन अधिकृत हेमन्त रावलले दलहरुले आफैँ बनाएको चुनावी नियमलाई पालना गरी शान्तिपूर्ण र भयरहित वातावरणमा चुनावमा होमिन आग्रह गरे। । आचारसंहिता पालना गरे चुनाव निष्पक्ष, शान्त, भयरहित र नमूना बन्ने भन्दै उनले प्रचार सामग्रीमा टिसर्ट, टोपी, झोलाको प्रयोग नगर्न आग्रह गरे।
चुनावमा बालबालिकाको पनि प्रयोग नगर्न भन्दै उनले प्रतिनिधिसभा सदस्यका उम्मेदवारले चार वटा हलुका चारपांग्रे गाडी र चार वटा मोटरसाइकल तथा प्रदेशसभा सदस्यले दुई वटा हलुका चारपांग्रे गाडी र चार वटा मोटरसाइकल मात्रै प्रयोग गर्न पाउने बताए।
'आचारसंहिता पटक–पटक उल्लंघन गरी अटेरी गरे उम्मेदवारको उम्मेदवारी रद्दसमेत गर्न हामी बाध्य हुनेछौं,' उनले भने।
प्रमुख जिल्ला अधिकारी गजेन्द्रबहादुर श्रेष्ठले निर्वाचनमा सुरक्षाको कुनै कमी नहुने तर आचारसंहिता सबैले पालना गर्नुपर्नेमा जोड दिए।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।