नेपालगञ्ज– पश्चिम नेपालको प्रमुख शहर नेपालगन्जको शहरी क्षेत्र बाँकेको क्षेत्र नम्बर २ मा पर्छ। नेपाली कांग्रेसका पूर्व सभापति स्व. सुशील कोइराला र राप्रपाका महामन्त्री एवं नेपालगन्ज उपमहानगरपालिकाका मेयर धवल शम्शेर राणाको निर्वाचन क्षेत्र रहेको यहाँ दुई दशकदेखि यिनै दुई नेताबीच हुने गरेको थियो।
देशभरिमै राप्रपाको राम्रो प्रभाव रहेको यस क्षेत्रबाट स्थानीय तहको निर्वाचनमा धवल शम्शेर र उपमेयरमा कांग्रेसीकी उमा थापामगर उपमेयर निर्वाचित भएका थिए। प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा कांग्रेस र राप्रपाले यही क्षेत्रमा चुनावी गठबन्धन गरेका छन्। प्रतिनिधिसभातर्फ गठबन्धनका उम्मेदवारको रुपमा राप्रपाका नेता ओमप्रकाश आजाद चुनावी मैदानमा छन्।
नेकपा एमाले, माओवादी केन्द्र र हृदयेश त्रिपाठी नेतृत्वको मधेसी मोर्चाका तर्फबाट पशुपति दयाल मिश्रा उम्मेदवार बनेका छन्। यस निर्वाचन क्षेत्रबाट एमाले तथा माओवादीका उम्मेदवारहरुले हालसम्म केन्द्रीय तहको निर्वाचन जितेका छैनन्। तर, बाँकेका पूर्व जिविस सभापति समेत रहेका मिश्रालाई सशक्त उम्मेदवारको रुपमा हेरिएको छ।
त्यस्तै, संघीय समाजवादी फोरमबाट पूर्वमन्त्री मोहम्मद इस्तिहाक राई चुनावी मैदानमा छन्। राई पूर्व निर्वाचित सभासद हुन्। संघीय फोरम र राजपाबीच तालमेल हुन नसकेपछि फोरमले राई र राजपाले पूर्व मेयर विजय गुप्तालाई उठाएको हो।
राजपाका अधिकांश प्रभावशाली नेताहरु एमाले तथा कांग्रेसमा प्रवेश गरेको र संघीय फोरमबाट इस्तिहाक राई पनि उम्मेदवार भएकाले अन्य उम्मेदवारको तुलनामा गुप्तालाई केही कमजोर मानिएको छ।
स्थानीय चुनावको आँकडा र फेरिएको परिस्थिति
नेपालगञ्ज उपमहानगरपालिका र डुडुवा गाउँपालिका मिलाएर बनाइएको बाँके क्षेत्र नम्बर २ मा उपमहानगरका २३ मध्ये २१ तथा डडुवा गाउँपालिकाकाका ६ वटा वडा समेटिएका छन्।
दलहरुले स्थानीय तह निर्वाचनमा पाएको मत विश्लेषण गर्दा यस क्षेत्रमा वाम गठबन्धन कमजोर देखिएको छ। स्थानीय चुनावमा कांग्रेसले सबैभन्दा धेरै मत ल्याएको थियो कांग्रेसले उपमहानगरका २१ वडा र डुडुवाका ६ वडामा गरी करिब १५ हजार मत पाएको थियो भने राप्रपाले १३ हजार ३ सय मत प्राप्त गरेको थियो। कांग्रेससँग एकता गरेको फोरम लोकतान्त्रिकले करिब १ हजार ७ सय मत ल्याएको थियो। यो हिसाबले यस क्षेत्रमा कांग्रेस–राप्रपा गठबन्धन बलियो देखिन्छ।
स्थानीय तहको मतका आधारमा कांग्रेस–राप्रपा गठबन्धन बलियो देखिए पनि चुनावपछि फेरिएको राजनीतिक परिस्थितिका कारण वाम गठबन्धनलाई पनि कम आँक्ने अवस्था छैन।
एमालेले नेपालगन्ज र डुडुवामा गरी ८ हजार २ सय तथा माओवादीले ६ हजार ७ सय मत पाएका थिए। हाल वाम गठबन्धनमा रहेका एमाले, माओवादी र हृदयेश समूहको कुल मत १५ हजार ४ सय २२ हुन्छ।
स्थानीय चुनावमा एक्लै चुनाव लडेको संघीय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा नेपालगञ्ज र डुडुवामा गरेर करिब ८ हजार ८ सय मत प्राप्त गरेको थियो।
स्थानीय तहको मतका आधारमा कांग्रेस–राप्रपा गठबन्धन बलियो देखिए पनि चुनावपछि फेरिएको राजनीतिक परिस्थितिका कारण वाम गठबन्धनलाई पनि कम आँक्ने अवस्था छैन।
राजपाले स्थानीय तहको निर्वाचन बहिष्कार गरेकाले त्यो बेला उसको धेरैजसो मत कांग्रेस र राप्रपाका उम्मेदवारले पाएका थिए। यस पटक राजपाका सहमहामन्त्रीसहित आधा दर्जनभन्दा बढी प्रभावशाली नेता वाम गठबन्धनमा संलग्न भएका छन्। सो गठबन्धनबाट राजपाकै पूर्व सहमहामन्त्री पशुपति दयाल मिश्रा नै उम्मेदवार भएकाले परिस्थितिमा धेरै फेरबदल भएको छ।
उता राजपाबाट पनि केन्द्रीय उपाध्यक्ष एवं नेपालगञ्ज उपमहानगरका पूर्व मेयर विजय गुप्ता पनि चुनावी मैदानमा भएकाले स्थानीय तहको निर्वाचनमा जस्तो नेपालगञ्जका मधेसी समुदायको भोट पाउन काग्रेस र राप्रपा गठबन्धनलाई सहज देखिँदैन।
स्थानीय तहमा राप्रपाको संगठनभन्दा पनि धवलको व्यक्तित्व हेरेर धेरैले मत दिएकाले उनले जस्तो मत राप्रपाकै नेता भए पनि ओमप्रकाश आजादले पाउने सम्भावना कम रहेको आम बुझाइ छ।
अर्कातिर, पार्टीका पूर्व सभापति कोइरालाको निर्वाचन क्षेत्र कांग्रेसले राप्रपालाई छाडिदिएकोमा सो पार्टीभित्र चर्को असन्तुष्टि देखिएको छ। त्यस्तै, टिकट नपाएका कारण कांग्रेसका मुस्लिम नेताहरुले सार्वजनिक रुपमै असन्तुष्टि जनाएका छन्। यसैले कांग्रेस–राप्रपा गठबन्धनलाई आफ्नो मत जोगाउन निकै मिहिनेत गर्नुपर्ने देखिन्छ।
कांग्रेस–राप्रपा गठबन्धनमा भन्दा वाम गठबन्धनमा केही उत्साह देखिए पनि सबै पक्षलाई समेटेर अगाडि बढ्न त्यति सहज भने देखिँदैन।
दुवै गठबन्धनले मुस्लिम समुदायबाट उम्मेदवारी नदिएकाले निराश देखिएका मुस्लिम मतदातालाई आकर्षित गर्न सके संघीय फोरमका उम्मेदवार मुस्लिम नेता इस्तिहाक राई खरो उत्रिन सक्ने सम्भावना देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।