धरान- प्रतिनिधिसभाको चुनावमा संघीय समाजवादी फोरम र नेपाली कांग्रेसको संयुक्त चुनावी गठवन्धनले फोरमका वरिष्ठ नेता असोक रार्इलार्इ आफ्नो पुरानो राजनीतिक कर्मथलोबाट चुनावी मैदानमा उतारेको छ।
कम्युनिस्टहरुको पकड रहँदै आएको सुनसरी क्षेत्र नम्बर १ मा नेकपा एमाले र माओवादी केन्द्रको वाम गठबन्धनका तर्फबाट जय रार्इले प्रतिस्पर्धा गर्दै छन्। जय रार्इले एमालेका पुराना नेता अशोक राईकै राजनीतिक चेला हुन्। जयले ०५४ सालमा एमाले विभाजनपछि नेकपा मालेबाट अशोक रार्इ निकट रहेर काम गरेका थिए। अहिले उनी आफ्ना पुराना नेतासँग चुनावी भिडन्तमा छन्।
मदन भण्डारी सगरमाथा कोशी क्षेत्रीय समितिको सचिव हुँदा अशोक राई उपसचिव भएर भूमिगत रुपमा धरानबाट राजनीति गर्थे। २०४६ सालको आन्दोलनताका पनि धरानमा रहेर आन्दोलन गरेको रार्इले बताए। खोटाङमा जन्मिएका राईले आफ्नो राजनीतिक भूमि धरान भएकाले सुनसरी-१ बाट प्रतिनिधिसभाका लागि उम्मेदवारी दिएको बताएका छन्। रार्इले २०३५ सालदेखि २०४८ सालसम्म धरानमा रहेर कम्युनिस्ट राजनीति गरेका थिए। 'यो मेरो कर्मथलो हो। देशमा लोकतन्त्रका ल्याउन र पार्टीको संगठन निर्माण गर्न मैले यही ठाउँबाट संघर्ष गरेको हुँ। धरानबाट शिक्षा आर्जन गरेको हुँ। मेरा साथीभार्इ, नातागोता, गुरु र पार्टीका सहकर्मीहरु यहीँ छन्,' उनी भन्छन्, 'पार्टीले पनि मलार्इ यहाँ आउनुपर्छ भनेको र गठबन्धनले पनि साथ दिएका कारण उम्मेदवारी दिएको हुँ। ४५ वर्षको मेरो राष्ट्रिय राजनीतिको अनुभवबाट सुनसरी-१ लाई फाइदा पुर्यााउनेछु।'
विद्यार्थीकालदेखि नै राजनीतिमा होमिएका जय रार्इ नेकपा एमाले धरान उपमहानगरपालिकाका सहइन्चार्ज तथा सुनसरी जिल्ला कमिटिका सदस्य हुन्। उनी भन्छन्, 'अशोक रार्इ मेरो प्रतिद्वन्द्वी भए पनि म उहाँलार्इ सम्मान गर्छु। म उहाँको कार्यकर्ता भएर काम गरेको थिएँ। मेरो ३० वर्षको राजनीतिमा मैले धरानका स्थानीय जनतासँग नजिक रहेर काम गरेको छु। उनीहरुको सुखदुःख बुझेको छु। हाम्रो संगठन बलियो छ, त्यसमाथि भर्खरै बनेको वाम गठबन्धनले हामीलार्इ अझ मजबुत बनाएको छ।'
यो क्षेत्रमा २०६४ को पहिलो संविधानसभा बाहेक सधैं एमालेले जितेको छ। नयाँ संरचना अन्तर्गत चुनावी क्षेत्रहरुमा फेरबदल आए पनि यहाँ एमालेको संगठन कमजोर भने छैन। नयाँ क्षेत्र अन्तर्गत धरान उपमहानगरपालिकाका १९ वटै वडा, बराह नगरपालिकाको १ देखि ५ र रामधुनी नगरपालिकाको ६ र ७ वडा सुनसरी क्षेत्र नम्बर १ मा पर्छन्।
सुनसरी-१ लाई अन्य क्षेत्रको तुलनामा संघीय समाजवादी फोरमको राम्रो पकड भएको क्षेत्र मानिएको छ। यद्यपि, स्थानीय तह निर्वाचनको परिणाम हेर्ने हो भने, धरान उपमहानगरपालिका, बराह नगरपालिका र रामधुनी नगरपालिकाका मेयर, उपमेयर र अधिकांश वडामा एमालेले जितेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।