काठमाडौं– स्थानीय तहअन्तर्गत प्रदेश–२ मा भएको तेस्रो चरणको निर्वाचनमा उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमले राम्रै स्थान हासिल गर्यो। आसन्न प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव हुँदै गर्दा उनलाई लागेको छ, हामी तेस्रो शक्ति बन्छौं।
यद्यपि यादव यतिखेर पहिलो र दोस्रो चरणको स्थानीय चुनाव बहिष्कार गरेको राष्ट्रिय जनता पार्टीसँग तालमेल गर्दै छन्। यो मिलापको मसिहा पनि उनै हुन्। नत्र राजपा लत्रिएर कांग्रेस गठबन्धनमा पुगिसकेको हुन्थ्यो।
पहिलो संविधानसभामा यादव नेतृत्वको मधेसी जनअधिकार फोरम संख्याको हिसाबले चौथो शक्ति भए पनि प्रभावको हिसाबले तेस्रो शक्ति थियो। उनी त्यही साख फर्काउन चाहन्छन्।
‘मधेसका मुद्दाहरु अझै पूरा भएका छैनन्, हामी संर्घषरत छौं। सडक होस् वा चुनावी प्रतिस्पर्धा, हामी आन्दोलनमै छौं’, उनी भन्छन्।
पहिलो र दोस्रो चरणको स्थानीय निर्वाचनमा सहभागी नहुन राजपालाई भारतले रोक्यो। उपेन्द्र चाहिँ डगेनन्। नयाँशक्तिसँग तालमेल गरेर उनी आफ्नो प्रभाव नरहेको पहाड र हिमालसम्मै पुगे।
‘चुनाव भनिसकेपछि हारजित सामान्य हो, जनमत स्वीकार गर्न नसक्ने नेता हुँदैन’, वामपन्थी पृष्ठभूमिका यादव भन्छन्।
भारतीय दबावकै कारण यिनको पार्टी पटक–पटक विभाजित भयो। मधेस आन्दोलनका सूत्रधार उपेन्द्र विचलित भएनन्। हिजो यिनलाई छाडेर जानेमध्ये अधिकांश यिनीसँग सम्झौता गर्न आइपुगेका छन्।
मधेस आन्दोलनका धेरै माग सम्बोधन गर्दै संविधान आइसकेपछिको अवस्थामा अझै मधेसवादकै एजेन्डामा रहिरहन मिल्छ? यो प्रश्नमा उनले भने, ‘मधेसको मूल मुद्दालाई संविधानले सम्बोधन गरेकै छैन। पहिचान, अल्पसंख्यकको प्रतिनिधित्व सुनिश्चित नहुँदासम्म हाम्रो संघर्ष जारी रहन्छ।’
पुरानो निर्वाचन क्षेत्रका जनताले आफूलाई ‘मिस’ गरेको उनको दाबी छ । उनलाई यस पटक के कुरामा गर्व छ भने, राजपासँगको गठबन्धन घरेलु प्रयासमा बन्यो।
प्रस्ताव आउँदा पनि पछिल्लो समय करिब २ वर्ष यिनी सत्तामा गएनन्। न राजपाले जस्तो संवैधानिक प्रक्रियाबाहिर नै गए। भारतीय दबाव झेलेरै यिनी चुनावमा गए। भारतीय इशारामा झन्डै ‘लोकतान्त्रिक गठबन्धन’ मा जान लागेको राजपालाई पनि सहयात्रामा ल्याए। यिनले स्पष्ट भने, ‘हाम्रा लागि सबै खुर्सानी हुन्। कुनै धेरै पिरो हुन्छ, कुनै कम। भारत होस् वा चीन, वाम हुन् वा लोकतान्त्रिक, कसैको कृपामा होइन, अब आफ्नै बलबुतामा अघि बढ्नुपर्छ।’
उपेन्द्रकै अडानका कारण संघीय फोरम र राजपा चुनावी तालमेलमा एक ठाउँ उभिए। तपाई संविधानअनुरुप चुनावमा पनि जाने, अनि संविधानकै खोइरो खन्ने? भन्ने प्रश्नमा उनले भने, ‘म लोकतान्त्रिक प्रक्रियामा विश्वास गर्छु। त्यहीअनुरुप अघि बढ्छु, ढुक्क हुनुहोस् । तर, संविधानमा खोट छ, हामी यो खोट हटाउन प्रयत्नशील रहनेछौं।’
बितेको चार वर्षमा के गर्नुभयो र अबको ५ वर्षमा के गर्नुहुन्छ ? भन्ने प्रश्नको उत्तरमा उनले भने, ‘जिन्दा कौंम ५ साल की इन्तजार नही करती (ज्युँदो जगत वर्ष गनेर बस्दैन, अर्थात् ५ वर्ष कुर्दैन)।’
अघिल्लो चुनावमा सुनसरी–५ बाट जितेका यादव यस पटक सप्तरी–२ बाट प्रतिनिधिसभातर्फका उम्मेदवार बनेका छन्। किन भाग्नुभएको आफ्नो निर्वाचन क्षेत्रबाट? उनले भने, ‘म भागेको होइन, घर फर्केको हुँ। अहिले म सप्तरीको जुन निर्वाचन क्षेत्रबाट प्रतिस्पर्धा गर्दैछु, त्यही क्षेत्रभित्र मेरो जन्म भएको हो र म हुर्केको पनि हो।’
पुरानो निर्वाचन क्षेत्रका जनताले आफूलाई ‘मिस’ गरेको उनको दाबी छ। उनलाई यस पटक के कुरामा गर्व छ भने, राजपासँगको गठबन्धन घरेलु प्रयासमा बन्यो।
‘देशभित्र र बाहिरका बाह्य तत्वले हामीलाई कसैसँग विलय हुन त कसैसँग तालमेलका नाममा बँधुवा बनाउन खोजेका थिए। तर हामी मानेनौं। मेरो प्रयास चुनावी तालमेल मात्र होइन, विचार र मुद्दा मिल्ने सबैसँग एकता गर्नेमा केन्द्रित छ जुन मेरो विश्वासअनुसार भएरै छाड्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।