काठमाडौं– मोरङ क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ नेकपा एमालेका उम्मेदवार भानुभक्त ढकालले निर्वाचन जित्ने कुरामा आफूलाई कुनै द्विविधा नरहेको बताएका छन्।
नेपाली कांग्रेसका इमान्दार कार्यकर्ताहरुले नै निर्वाचनमा जित्नुपर्छ भनेकाले आफ्नो जित सुनिश्चित रहेको ढकालले दाबी गरे।
स्थानीय तह निर्वाचनको मत हेर्दा यस क्षेत्रमा कांग्रेसको भन्दा वाम गठबन्धनको मत २० हजार बढी भएकाले सहजै जित्ने ढकालको दाबी छ । सो क्षेत्रमा कांग्रेसले नक्कली सर्टिफिकेट भएको आरोप लागेका नोबेल मेडिकल कलेजका सञ्चालक सुनील शर्मालाई उठाएको छ।
‘शर्मालाई टिकट दिएर कांग्रेसले मलाई चुनाव जित्न सहज बनाएको छ’, ढकालले भने, ‘राजनीतिमा वर्षौंदेखि सक्रिय इमानदार कार्यकर्तालाई हेला गरिएकाले कांग्रेसका मित्रहरुको समेत मलाई साथ छ।’
वाम गठबन्धनकै पर्याप्त मत रहेको र कांग्रेस कार्यकर्ताको समेत सहयोगले आफू अत्यधिक मत ल्याएर विजयी हुने ढकालको दाबी छ । उनले मोरङ ३ का जनता संविधान कार्यान्वयनको वाम एजेन्डामा सहमत भएको पाएको समेत बताए।
‘हालसम्म भएका निर्वाचनमा कहिल्यै पनि वामपन्थीले हार नखाएको क्षेत्र हो यो’, ढकालले भने, ‘त्यसैले यहाँ मेरा प्रतिस्पर्धी कमजोर छन्।’
ढकाल अनेरास्ववियूका पूर्व अध्यक्ष समेत हुन् । ०७० सालको दोस्रो संविधानसभा चुनावमा समानुपातिक तर्फबाट सभासद भएका उनी रुपान्तरित संसदमा एमालेका प्रमुख सचेतक थिए । ढकाल एमालेका अध्यक्ष केपी ओली निकट नेता हुन्।
स्थायी घर पाँचथर भएका ढकालले मोरङको एमाले वर्चस्व रहेको क्षेत्रवाट आफ्नो निर्वाचन यात्रा सुरु गर्दै छन् ।
स्थानीय तहको मतमा मोरङ ३
मोरङ ३ मा पथरी शनिश्चरे नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ७, ८, ९, १०, बेलबारी नगरपालिकाको वडा नम्बर १, २, ३, ४, ८, ९, १०, ११, सुन्दर हरैंचा नगरपालिकाको वडा नम्बर १, ८, ९, १०, ११, १२ र कानेपोखरी गाउँपालिकाको वडा नम्बर ४, ५, ६, ७ पर्छन्।
यी चार वटा स्थानीय तहका जम्मा २६ वटा वडामध्ये स्थानीय निर्वाचनमा एमाले १९ स्थानमा विजयी भएको थियो भने माओवादी ३ र कांग्रेस ४ ठाउँमा विजयी भएका थिए ।
यहाँका वडाध्यक्षका उम्मेदवारहरुले पाएको मत केलाउने हो भने एमाले निकै बलियो देखिन्छ । उसले जम्मा २९ हजार १ सय ३६ मत पाएको छ । त्यस्तै, माओवादीले १३ हजार १ सय ९८ मत पाएको छ । यस हिसाबले वाम गठबन्धनको मत ४२ हजार ३ सय ३४ हुन आउँछ । कांग्रेसले भने २२ हजार ६ मत पाएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।