काठमाडौं- नेपाली कांग्रेसका नेता मिनेन्द्र रिजालले मोरङको समग्र विकासका लागि आफूलाई निर्वाचित गराउनुपर्ने बताएका छन्।
प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नम्बर २ बाट चुनावी प्रतिस्पर्धामा रहेका नेता रिजालले नदी नियन्त्रण, पूर्वाधार निर्माण, सिचाइँ लगायतका विकास निर्माणको कामका लागि आफ्नो विकल्प नरहेको दाबी गरेका छन् । आफूले कांग्रेसका पूर्व सभापति गिरिजाप्रसाद कोइरालाको साख जोगाउने उनको भनाइ छ ।
पूर्व सभापति कोइरालाको क्षेत्रमा उठेका उनले भने, 'मलाई निर्वाचित गराउन जनता असाध्यै उत्साही हुनुहुन्छ । गिरिजाबाबूको साख म जोगाउँछु', उनले भने।
रिजाल नेकपा एमालेका ऋषिकेश पोखरेलसँग प्रतिस्पर्धा गर्दैछन् । पोखरेल दोस्रो संविधानसभा निर्वाचनमा प्रत्यक्ष निर्वाचित सभासद हुन् भने रिजाल समानुपातिक सभासद भएका थिए।
नेता रिजालले स्थानीय तहलाई साधन-स्रोतले सम्पन्न बनाउन पनि जनताले आफूलाई निर्वाचित गराउनुपर्ने जिकिर गरे।
'मोरङ २ का बासिन्दाले विकासको महसुस गर्न पाएका छैनन्', रिजालले नेपाल लाइभसँग भने, 'स्थानीय तहलाई साधन-स्रोतले सम्पन्न बनाएर विकासलाई तीव्रता दिन मलाई निर्वाचित गराउनुपर्छ।'
कांग्रेसको नेतृत्वमा शान्ति र संविधान पाएकाले जनताले समृद्धिका निम्ति कांग्रेसका उम्मेदवारलाई जिताउनुपर्ने उनको भनाइ छ । कम्युनिस्टको नेतृत्वमा अधिनायकवाद बाहेक केही नहुने उनले आरोप लगाए।
'संसारमा कम्युनिस्टको नेतृत्वमा समृद्धि विरलै प्राप्त भएका छन्, त्यसैले मुलुकको समृद्धिका लागि कांग्रेसका उम्मेदवारलाई जनताले निर्वाचित गराउनुपर्छ', उनले भने।
त्यस क्षेत्रलाई नमुना क्षेत्रको रुपमा विकास गर्ने आफ्नो योजना रहेको र त्यसका लागि सम्पूर्ण पूर्वाधार बनाउने उनले बताए । संविधानको कुशलतापूर्वक कार्यान्वयन र राष्ट्रिय एकता मजबुद गराउन कांग्रेसलाई पहिलो पार्टी बनाउनुपर्ने उनको भनाइ छ।
'संविधानलाई सर्वस्वीकार्य बनाउन र राष्ट्रिय एकता बलियो बनाउन कांग्रेसको जित आवश्यक छ', उनले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।