विराटनगर– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा मीनेन्द्र रिजालले माओवादी केन्द्र घुमुवा दल भएको आरोप लगाएका छन्। नेपाल प्रेस युनियन मोरङले सोमबार विराटनगरमा आयोजना गरेको कांग्रेस उम्मेदवारस“गको छलफलमा डा रिजालले यस्तो आरोप लगाएका हुन्।
मंसिर २१ गते हुने निर्वाचनको प्रचार अभियानमा रहेका नेता रिजाल वाम गठबन्धनप्रति आक्रमक रुपमा प्रस्तुत भएका थिए। ‘नेकपा माओवादी केन्द्र आज यता, भोलि कता?, रिजालले भने, ‘दुई कम्युनिस्ट मिलेर अघि बढे मुलुकमा तानाशाह, अधिनायकवाद हावी हुनेछ र त्यसबाट जोगिनका लागि कांग्रेस मात्र विकल्प हो।’
उनले संविधान संशोधन लोकतन्त्रिक गठबन्धनको पहिलो प्राथमिकतामा रहेको बताए। प्रतिनिधिसभाका लागि मोरङ–२ का उम्मेदवार रिजालले पछिल्लो समय एमालेसँग लाचार भएर जोडिएको माओवादी गठबन्धनले जनताको हितमा काम गर्न नसक्ने दाबी गरे। उनले माओवादी जोड्नभन्दा पनि तोड्न पोख्त बन्दै गएको र पछिल्लो समय एमालेको मतियार भएको अरोप लगाए।
त्यसैगरी, कार्यक्रममा कांग्रेसबाट मोरङ–४ का उम्मेदवार महेश आचार्यले लोकतन्त्र, मानवअधिकारको संरक्षण गर्नु लोकतान्त्रिक गठबन्धनको पहिलो एजेन्डा भएको बताए।
आचार्यले विराटनगरलाई प्रदेश १ को प्रादेशिक राजधानी बनाउने कुरा कांग्रेसको प्राथमिकतामा रहेको बताए। पूर्वअर्थमन्त्री समेत रहेका आचार्यले मुलुकको आर्थिक विकासका लागि राजनीतिक दलहरुबीच सहकार्य र सहमति आवश्यक रहेको उल्लेख गरे।
आचार्यले विराटनगर र मुलुककै विकासका लागि चीनसँग जोडिएको किमाथाङ्का सडकलाई पाँच वर्षभित्र पूर्णता दिनका लागि कांग्रेसले विशेष पहल गर्ने जनाए।
आचार्यले विराटनगर–१९ स्थित बैजनाथपुर स्पोट्र्स कम्प्लेक्सलाई व्यवस्थित बनाउने, विराटनगरमा अन्तर्राष्ट्रिय विमानस्थलका लागि पहल गर्ने लगायतका प्रतिबद्धता जनाएका छन्।
छलफल कार्यक्रममा मोरङ–१ का उम्मेदवार डीगबहादुर लिम्बु, मारङ–३ का उम्मेदवार सुनील शर्मा लगायतको उपस्थिति थियो। क्षेत्र नम्बर ५ र ६ का उम्मेदवार अमृत अर्याल र डा शेखर कोइराला भने कार्यकर्ता भेटघाटमा व्यस्त भएकाले कार्यक्रममा उपस्थित भएनन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।