काठमाडौं- मंसिर १० र २१ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मतदाताको संख्या १ करोड ५४ लाख २७ हजार ७३१ कायम भएको छ।
निर्वाचन आयोगले पुरुष मतदाताको संख्या ७७ लाख ७६ हजार ४९६, महिला मतदाताको संख्या ७६ लाख ५१ हजार ६५ र तेस्रोलिंगी मतदाताको संख्या १७० स्वीकृत गरेको हो।
निर्वाचन आयोगले गत भदौ ५ गतेसम्म १८ वर्ष पूरा भएकाहरुको फोटोसहितको मतदाता नामावली तयार गरे अनुसार यो संख्या कायम भएको हो।
सरकारले भदौ ५ गते प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति घोषणा गरेको थियो । मतदाता नामावली ऐन ०७३ को प्रावधान अनुसार निर्वाचनको मिति घोषणा भएपछि मतदाता नामावली अद्यावधिक गर्न पाइँदैन।
स्वीकृत भएको मतदाता नामावली अनुसार, प्रदेश १ मा सबैभन्दा बढी २९ लाख ९३ हजार ६६९ मतदाता छन् । यस्तै, प्रदेश २ मा २७ लाख ६७ हजार ३६९, प्रदेश ३ मा ३० लाख ७४ हजार ४१२, प्रदेश ४ मा १५ लाख ६८ हजार ८२९, प्रदेश ५ मा २७ लाख ४० हजार ८४८ मतदाता छन् । प्रदेश ६ मा सबैभन्दा कम ८ लाख ४६ हजार ९३३ छन् । उता प्रदेश ७ मा १४ लाख ३५ हजार ६७१ मतदाता रहेको निर्वाचन आयोगले जनाएको छ।
जिल्लागत हिसाबमा सबैभन्दा बढी मतदाता मोरङमा छन् । ६ वटा निर्वाचन क्षेत्र रहेको मोरङमा ६ लाख ४४ हजार ७ सय ८५ मतदाता छन् । मनाङमा सबैभन्दा कम ५ हजार ८ सय ८० मतदाता छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।