काठमाडौं- सिन्धुलीको फिक्कल गाउँपालिकामा गएराति बोलेरो जीप दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन्।
सिन्धुलीको खुर्कोटबाट खाङसाङ बेँसी जाँदै गरेको बा ७ च ३६ ९५ नम्बरको बलेरो फिक्कल-४ टर्कीबेँसीमा राति ९ बजे दुर्घटना भएको थियो। उकालो चढ्न नसकेपछि ब्याक सरेपछि सडकबाट अन्दाजी १ सय मिटर तल खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बलेरोमा सवार स्थानीय ४० वर्षीय अमरबहादुर दर्लामी र ४० वर्षकै रामप्रसाद बरालको घटनास्थलमै मृत्यु भएको हो। घाइते भएका फिक्कल गाउँपालिका ४ का ५९ वर्षीय दिपबहादुर मगर र ६० वर्षीय नरबहादुर बलम्पाकीको भने उपचारको क्रममा खुर्कोटमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ।
घाइते मध्ये एक जनालाई बि एण्ड बि अस्पताल ललितपुर ल्याइएको छ भने ६ जनाको स्थानीय शुभजीवन अस्पतालमा उपचार भइरहेको छ। दुर्घटनापश्चात् चालक फरार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।