काठमाडौँ- २३ वर्षपछि राजनीतिमा फर्किएका नागरिक अधिकारकर्मी दमननाथ ढुंगानाको उम्मेदवारीले भक्तपुर क्षेत्र नम्बर २ यतिबेला चर्चामा छ। नेपाली कांग्रेसले पूर्वसभामुख ढुंगानालाई भक्तपुर २ बाट प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार बनाएपछि उनको उम्मेदवारी राजनीतिक नेतृत्वलाई चर्चा बढेको हो।
सरकार माओवादीबीचको पहिलो वार्तामा महत्वपूर्ण भूमिका निर्वाह गरेका ढुंगानासँग सो क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारसँग कडा प्रतिस्पर्धा हुने देखिएको छ। भक्तपुर २ नम्बर क्षेत्रमा ढुंगानाले वामगठबन्धनका उम्मेदवार महेश बस्नेतसँग प्रतिस्पर्धा गर्नुपर्ने भएको छ। बस्नेत पूर्वउद्योगमन्त्री हुन्।
ढुंगानाले स्थानीय समाजसेवी, पुराना कार्यकर्तासँगको भेटघाटमा आफू विधिको शासनमा विश्वास राख्ने बताए। झुटो नबोल्न र जनतालाई आश्वासन नदिनसमेत उनले नेताहरुलाई आग्रह गरेका छन्। उनी चुनावी सभा र भेटघाटमा व्यस्त छन्।
भक्तपुरवासीले उनको मनोनयनलाई जिल्लाको प्रतिष्ठाका रुपमा लिएको प्रतिनिधिसभाका पूर्वसदस्य रामेश्वर ढुंगेलले बताए।
पहिलो प्रतिनिधिसभा निर्वाचन २०४८ मा काठमाडौँबाट निर्वाचित भई सभामुख रहेका ढुंगानाले २०५१ को निर्वाचनमा पराजय बेहोरेका थिए। त्यसपछि उनी नागरिक अधिकारकर्मीको भूमिकामा थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।