काठमाडौं– सुनसरीको क्षेत्र नम्बर–३ को प्रतिनिधिसभा निर्वाचनमा नेपाली कांग्रेसका प्रभावशाली नेता विजयकुमार गच्छदारको प्रतिद्वन्दीको रुपमा नेकपा एमालेकी भगवती चौधरी उठेपछि यतिबेला सुनसरीको राजनीतिक माहौल तातिएको छ।
भगवती चौधरी एमालेकी तिनै नेता हुन्, जसले २०७० सालको दोस्रो संविधानसभा निर्वाचनमा गच्छदारलाई आछुआछु पारेकी थिइन्। उनी ३ सय ६२ मतले मात्र गच्छदारसँग पराजित भएकी हुन्।
तीन वर्षअघि भएको निर्वाचनमा गच्छदारले १७ हजार ५ सय २४ मत प्राप्त गर्दा उनले १७ हजार १ सय ६२ मत ल्याएकी थिइन्। त्यति बेला भगवतीले मतगणनाको क्रममा व्यापक धाँधली भएको भन्दै गच्छदारले राज्यसंयन्त्रको दुरुपयोग गरेको आरोप लगाएकी थिइन्।
यसपालि पनि यस्तो अवस्था आए गडबडी र दमनलाई परास्त गर्न आफूले विशेष योजना बनाएको नेपाल लाइभलाई जानकारी दिइन्।
‘त्यति बेला मतगणना स्थलबाट हाम्रा प्रतिनिधिलाई पुलिसले कुटेर निकाले। फेरि बीचमा बत्ति काटेर धाँधली गरियो,’ उनले भनिन्, ‘यसपालि हामीसँग युथ फोर्स र वाइसिएलको पनि साथ छ। धाँधली गर्न खोजे त्यही प्रतिकार गर्छो।’
उनले २ महिनापछि ‘वाम गठबन्धन’ मिलेर सरकार बनाउने कारण पुलिस प्रशासनदेखि कर्मचारीको समेत साथ रहने दावी गरिन्। ‘यसपालि पहिले जस्तो धाँधली नहोला,’ उनको भनाई थियो।
गत निर्वाचनमा २७ सय मत बदर भएको थियो। उनले आफू हार्ने डरले गच्छदारले मत बदर गराएको दावी गरिन्।
निर्वाचनको मुखमा विजयकुमार गच्छदारको कांग्रेस प्रवेशले आफूलाई थप फाइदा पुग्ने उनको भनाई छ। गच्छदारको कांग्रेस प्रवेशपछि असन्तुष्ट बनेका र भविष्य बोकेका कांग्रेस कार्यकर्ताले आफूलाई समर्थन गर्ने उनी बताउँछिन्।
‘कुनै सिद्धान्त छैन। पार्टी नै म हुँ। म नै पार्टी हो भन्ने गच्छदारको दम्भ यसपालि चकनाचुर हुँदैछ,’ उनले गच्छदारको नेपाल लोकतान्त्रिक फोरम कांग्रेसमा विलय गराउने निर्णयप्रति कट्टाक्ष गर्दै भनिन्। १० वर्षअघि कांग्रेसबाट अलगिएर गच्छदारले छुट्टै पार्टी बनाएका थिए।
भगवती हाल नेकपा एमालेको केन्द्रिय कमिटी सदस्य हुन्। उनी २०४८ सालमा पार्टीमा लागे पनि २०५८ देखि सक्रिय छिन्। २०६२ सालमा व्यवस्थापिका–संसदमा विभिन्न क्षेत्रबाट २६ जनालाई मनोनय गर्दा उनी नेकपा एमालेको कोटाबाट सासंद बनेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।