ताप्लेजुङ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा वाम गठबन्धनले बहुमत ल्याउने दाबी गरेका छन्।
आज वाम गठबन्धन, ताप्लेजुङले सदरमुकाम फुङलिङमा आयोजना गरेको चुनावी आमसभालाई सम्बोधन गर्दै ओलीले अबको स्थायी सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन आग्रहसमेत गरे।
अध्यक्ष ओलीले एमाले र नेकपा माओवादी केन्द्रबीच भएको चुनावी तालमेल पार्टी एकताको आधार भएको भन्दै उनले निर्वाचनपछि नै पार्टी एकताको घोषणा गरी समृद्ध राष्ट्र निर्माणमा नायक शक्ति बनेर अघि बढ्ने बताए।
ओलीले अहिले दुवै पार्टीले फरक फरक चुनाव चिह्न लिएर लडेपनि एउटै उद्देश्यका साथ अघि बढेको स्पष्ट पारे। पार्टी एकताको अभियान सँगै राष्ट्र निर्माणको महायज्ञमा आफूहरु पसेकाले अबको सरकार वाम गठबन्धनको हुनेमा ढुक्क हुन उनको आग्रह थियो ।
स्थिर सरकार निर्माणकै लागि एकता भएको र पार्टी एकताको कुराले अहिले दुवै पार्टीमा उत्साह छाएको समेत बताए।
‘म माथि छु, यहाँ योगेश हुनुहुन्छ, विकास कहाँ चाहिन्छ भन्ने ठाउँ देखाई दिनुहोस् योजना म पार्छु’, उनले भने।
यसअघि ताप्लेजुङबाट निर्वाचित सांसदलाई मन्त्री बनाउन नसक्नु आफ्नो गल्ती भएको स्वीकार गर्दै ओलीले अब यहाँको विकासका लागि यहाँकै जनप्रतिनिधिलाई जिम्मेवारी दिने बताए।
यसअघि काँग्रेसका कारण धेरै पार्टी मिलाएर सरकार बनाउनुपर्दा ताप्लेजुङबाट आफ्नो पार्टीका सांसद मन्त्री बन्न नसकेको ओलीको भनाइ थियो।
अधिनायकवादका विरुद्धमा लड्ने एमालेलाई अहिले विपक्षीहरुले अधिनायकवाद ल्याउँछ भनेर हल्ला फिँजाइरहेको उनको भनाइ छ । पद र पैसाबाहेक केही नदेख्नेको नेतृत्वले देशलाई गरिब बनाएको भन्दै उनले अब मुलुकको निकासका लागि वाम गठबन्धनको विकल्प हुनै नसक्ने दाबी गरे।
आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा एमाले सचिव तथा प्रचार विभाग प्रमुख योगेश भट्टराई उम्मेदवार छन्। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।