रसुवा– मंसिर १० गते हुने प्रदेश तथा प्रतिनिधि सभाको निर्वाचनका लागि रसुवाका उम्मेदवारहरुले चुनावी प्रचार तीव्र पारेका छन्।
वाम गठबन्धनका साथै लोकतान्त्रिक गठबन्धनका नेपाली कांग्रेस र नयाँ शक्ति पार्टीले घरदैलो कार्यक्रम र कोणसभा गरिरहेका छन्।
जिल्लाका मतदाताले विकासप्रेमी नेतालाई जिताउने बताइरहँदा दुवै गठबन्धनका उम्मेदवारहरुले नमुना र समृद्ध जिल्ला बनाउने प्रतिबद्धतासहित चुनावी अभियान गरिरहेका छन् । उम्मेदवारहरु जिल्लाको टिमुरे, थुमन, स्याफ्रु लगायत स्थानहरुमा प्रचारप्रसारका कार्यक्रम लिएर गएका छन्।
लोकतान्त्रिक गठबन्धनले शनिबार नौकुण्ड गाउँपालिका स्थित सस्र्युमा कोणसभा गरेको छ।
कोणसभालाई सम्बोधन गर्दै प्रदेश (क) का उम्मेदवार कांग्रेसका प्रभात लामाले प्राकृतिक स्रोत–साधनमा जनताको पहुँच पुर्याउने प्रतिबद्धता जनाए । यस्तै, प्रदेश (ख) का उम्मेदवार नयाँ शक्तिका प्रेम तामाङले रसुवाको विकास लोकतान्त्रिक गठबन्धनले मात्र गर्न सक्ने बताए।
‘हाम्रो साझा नारा गाउँगाउँमा मोटरबाटो र रोजगारी हो, फलाम काट्नका लागि फलाम आएको हुँदा अब जिल्लाको परिवर्तन हुनेछ’, तामाङले भने।
यस्तै, प्रतिनिधिसभाका उम्मेदवार इञ्जिनियर मोहन आचार्यले पनि आफू विजयी भए रसुवालाई नमुना जिल्ला बनाउने अठोट गरेका छन्।
‘मलाई पैसा कमाउनु छैन । मलाई रसुवाको विकासका लागि केही गर्न मन छ, यसका लागि मेरो आफ्नो इच्छाशक्ति पनि छ’, उनले भने।
रसुवामा प्रतिनिधिसभातर्फ ११ र प्रदेशसभामा १२ जनाको उम्मेदवारी रहे पनि मुख्यगरी दुई गठबन्धनका दलबीच प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।