सिन्धुपाल्चोक– सञ्चारमन्त्री मोहनबहादुर बस्नेतले लोकतन्त्रमाथि भइरहेको आक्रमण रोक्न र देशमा स्थायी शान्ति कायम गर्न लोकतान्त्रिक गठबन्धनलाई जिताउन आग्रह गरेका छन्।
आइतबार जिल्लाको क्षेत्र नम्बर १ को जलवीरेमा भएको आयोजित चुनावी भेलालाई सम्बोधन गर्दै मन्त्री बस्नेतले वाम गठबन्धनले जितेमा वर्षौं लडेर ल्याएको लोकतन्त्र गुम्ने टिप्पणी गरे।
‘एकतन्त्रीय अधिनायकवादी शासन सुरु गराउने कि लोकतन्त्रलाई जोगाउने हो अब जनताको हातमा छ’, बस्नेतले भने, ‘कम्युनिस्ट शासन लोकतन्त्रका लागि खतरा भएकाले यो चुनावमा व्यक्तिभन्दा पद्धतिलाई मतदान गर्न म आग्रह गर्छु।’
बस्नेतले मीठा नाराभन्दा काम गर्ने व्यक्तिलाई विश्वास गर्न समेत आग्रह गरे । जिल्लाका मुख्य पूर्वाधार निर्माणमा आफू लामो समयदेखि सक्रिय रहेको र भविष्यमा पनि रहने भएकाले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न बस्नेतले आग्रह गरे । पाँच वर्षभित्र सबै जनताको घरमा पक्की मोटर बाटो पुर्याउने एकमात्र संकल्प आफूले लिएको र त्यसलाई पूरा गराउन पनि मतदान गर्न उनले आग्रह गरे।
जिल्लाका उच्च तहका सबै स्थानमा टेलिफोन टावर राख्ने कार्यका लागि सर्भे गर्ने कार्य सुरु भएको भन्दै मन्त्री बस्नेतले आगामी पाँच वर्षमा त्यो पूरा हुने बताए।
सिन्धुपाल्चोकमा राप्रपा प्रजातान्त्रिक र नेपाली कांग्रेसको संयुक्त चुनावी गठबन्धन प्रतिस्पर्धामा छ । सिन्धुपाल्चोकमा दुई क्षेत्रमध्ये १ नम्बरमा बस्नेत आफैं प्रतिनिधिसभाका उम्मेदवार हुन् भने वाम गठबन्धनका तर्फबाट माओवादीका नेता अग्नि सापकोटा उम्मेदवार छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।