काठमाडौं– सर्वोच्च अदालतले द्वन्द्वकालमा बलात्कारपछि हत्या गरिएकी काभ्रेकी मैना सुनार प्रकरणमा नेपाली सेनाका तर्फबाट प्राड (कानून) विभागले दर्ता गरेको मुद्दामा जिल्ला अदालतसँग फाइल मगाएको छ।
न्यायाधीशद्वय चोलेन्द्र शमसेर राणा र टंकबहादुर मोक्तानको इजलासले जिल्ला अदालतका फैसला, नेपाली सेना र सैनिक अदालतले गरेका कारबाही सम्बन्धी निर्णयहरुको फाइल मगाउने आदेश गरेको हो।
आफ्ना अवकाश प्राप्त तीन जना सैनिक अधिकृतमाथि सुनाइएको जन्मकैद फैसला बदरको माग राख्दै सर्वोच्च अदालतमा प्राड विभागले भदौ १६ गते रिट दायर गरेको थियो।
नेपाली सेनाको तर्फबाट अख्तियार प्राप्त सेना प्राड विभागमा कार्यरत सहसेनानी सरोज रेग्मीले मीना कट्वाललाई वारेस राख्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। निर्दोष बालिकालाई पक्राउ गरी हत्या गरेको अभियोगमा अवकाश प्राप्त महासेनानी बबी खत्री, सहसेनानीद्वय अमित पुन र सुनील अधिकारीलाई जिल्ला अदालत काभ्रेले गत वैशाखमा जन्मकैद अर्थात २० वर्ष कैद सजायको फैसला सुनाएको थियो।
उक्त मुद्दामा सहभागी हुन अस्वीकार गरेका सैनिक अधिकारीको सर्मथनमा सेनाले सरकार विरुद्ध मुद्दा हालेको थियो।
प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय, शान्ति तथा पुनर्निर्माण मन्त्रालय, महान्याधिवक्ताको कार्यालय, काभ्रे जिल्ला अदालत, मैना सुनारकी आमा देवी सुनार लगायतलाई विपक्षी बनाइ भदौमा रिट दर्ता भएको थियो। उक्त रिटमा सुनुवाइ गर्दै सर्वोच्चले फाइल मगाएको हो।
सैनिक अदालतमा मुद्दा किनारा भइ सजाय पाएको व्यक्तिलाई पुन थप सजाय भएको जिकिर उनीहरुको रिटमा गरिएको छ। दोहोरो खतराको सिद्धान्त विपरित काभ्रे जिल्ला अदालतले फैसला सुनाएको उनीहरुको जिकिर थियो।
रिट निवेदनमा यसअघि नै सैनिक जनरल अदालतबाट मुद्दा फैसला भइ प्रतिवादीहरूले सजाय भुक्तान गरिसकेको र फेरि जिल्ला अदालतले क्षेत्राधिकार मिचेर सजाय फैसला सुनाएको दाबी थियो।
रिटमा नेपाली सेनाले मैना सुनारको मृत्यु अनुसन्धानको सिलसिलामा भएको स्वीकार गरेको छ। ‘जुन दुर्घटना हुन पुग्यो, सेवासम्बन्धी कर्तव्य पालनाको सिलसिलामा भएको हो,’ रिटमा उल्लेख छ।
सशस्त्र द्वन्द्वकालीन मुद्दामा अदालतले सेनालाई दोषी ठहर गरेको यो पहिलो घटना थियो।
कसरी भएको थियो मैनाको हत्या
माओवादी द्वन्द्वका बेला काभ्रे खरेलथोककी १५ वर्षीया किशोरी मैनालाई पक्राउ गरी सैनिक ब्यारेकमा लगेर हत्या गरिएको थियो।
जिल्ला न्यायाधीश मेदिनीप्रसाद पौड्यालको इजलासले ३ वैशाखमा सुनाएको फैसलामा तीनै जनालाई मुलुकी ऐनको ज्यानसम्बन्धी महलको १३ (३) बमोजिम जन्मकैदको सजाय हुने भनिएको छ।
मैनालाई २०६० फागुन ५ मा पाँचखालस्थित वीरेन्द्र शान्ति तालिम केन्द्रका सैनिकले घरमै गएर पक्राउ गरेका थिए। उनलाई पक्राउ गर्दा तत्कालीन सहसेनानी निरञ्जन बस्नेतले चलाएको गाडीमा राखेर सैनिक तालिम केन्द्रमा ल्याइएको थियो। मैना हत्याको अभियोग लागेका चार जनामध्ये बस्नेत सेनामै कार्यरत छन्।
सेनाले पक्राउ गरेर बेपत्ता पारेपछि मैनाकी आमा देवी र बाबु पूर्णबहादुरले विभिन्न निकायमा निवेदन दिएका थिए। त्यसपछि सेनाले २०६१ वैशाख ५ मा मैनाका परिवारलाई उनको मृत्यु भएको खबर दिएको थियो।
२०६२ मंसिर २१ मा मैनाकी आमा देवीले जिल्ला प्रहरी कार्यालय काभ्रेमा चारै जनाविरुद्ध जाहेरी दिएकी थिइन्। द्वन्द्वका समयमा सेनाविरुद्धको उजुरी प्रहरीले दर्ता नगरेपछि उनी सर्वोच्च अदालत पुगेकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।