काठमाडौं– राजपाका अध्यक्ष मण्डलका संयोजक महन्थ ठाकुरले प्रतिस्पर्धा गरेको क्षेत्र महोत्तरी ३ मा नेपाली कांग्रेसले उम्मेदवारी फिर्ता लिएको छ। ठाकुरलाई समर्थन गर्न कांग्रेसले उम्मेदवारी फिर्ता लिएको हो। त्यहाँ कांग्रेसका बरजंग नेपाली उम्मेदवार बनेका थिए।
कांग्रेसको उम्मेदवारी फिर्ता र समर्थन गर्ने पछिल्लो कदमपछि ठाकुर झनै बलियो बनेका छन्। गत असोज २ मा सम्पन्न स्थानीय तहको चुनावमा पाएको त्यहाँका मतलाई केलाउने हो भने वाम गठबन्धनका उम्मेदवारको भन्दा ठाकुरलाई समर्थन गर्ने दलको कुल मत झण्डै तीन गुणा हुन आउँछ।
स्थानीय तहको निर्वाचनमा महोत्तरी ३ को अवस्था के थियो त?
सर्वप्रथम महोत्तरी ३ मा निम्न क्षेत्रहरु हेरौं। त्यहाँ निम्न क्षेत्रहरु पर्दछन्ः
(क) एकडारा गाउँपालिकाका वडा नं. १, २, ३, ४, ५
(ख) मटिहानी नगरपालिका
(ग) जलेश्वर नगरपालिका
(घ) पिपरा गाउँपालिकाका वडा न १, २, ३, ४, ५, ७
(ङ) मनरा शिसवा नगरपालिकाका वडा नं. ८, ९, १०
एकडारा गाउँपालिकाको ५ वटा वडामध्ये २ वटामा राजपा, २ वटामा संघीय समाजवादी फोरम र एउटा वडामा नेपाली कांग्रेस विजयी भएको थियो।
यहाँबाट राजपा र संघीय समाजवादी फोरमले वडाध्यक्षमा पाएको मत ३ हजार ८ सय ७१ हुन आउँछ। जबकि, कांग्रेस र उसँग पार्टी एकता गरेको नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत २ हजार ७९ हुन्छ। त्यस्तै, वामपन्थी गठबन्धनमा जोडिएका एमाले र माओवादीको मत १ हजार ६४ मत छ।
मटिहानी र जलेश्वर नगरपालिका दुवैमा राजपाले नेतृत्व गरिरहेको छ। यी दुवै नगरपालिकामा गरी राजपा र संघीय समाजवादी फोरमले पाएको कुल मत ११ हजार १ सय २० छ। त्यस्तै, कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत ७ हजार ४ सय ७७ हुन्छ। एमाले र माओवादीको संयुक्त मत ६ हजार ८ सय ८ छ।
पिपरा गाउँपालिकाका ६ वटा वडामध्ये एमाले र राजपा दुईदुई वडामा, माओवादी र संघीय समाजवादी फोरम एकएक वडामा विजयी भएका थिए। ६ वटा वडामा गरी राजपा र संघीय समाजवादी फोरमले पाएको कुल मत २ हजार ७ सय ११ छ। कांग्रेस र नेपाल लोकतान्त्रिक फोरम २ हजार २ सय ५७ मत छ। त्यस्तै, एमाले र माओवादीको संयुक्त मत २ हजार ७ सय १६ छ।
त्यस्तै, मनरा शिसवा नगरपालिकाकाका तीन वटा वडामा मधेस केन्द्रित दुई दलको संयुक्त मत १ हजार २ सय ५८ छ। कांग्रेस र नेपाल लोकतान्त्रिक पार्टी ७ सय १४ मत छ। त्यस्तै, वाम गठबन्धनका दुई दलको मत ४ सय ७७ छ।
यसरी, महन्थ ठाकुर उम्मेदवार हुने महोत्तरी क्षेत्र नम्बर ३ मा राजपा र संघीय समाजवादी फोरमले स्थानीय तहको निर्वाचनमा पाएको कुल मत १८ हजार ९ सयभन्दा बढी मत पाएको छ।
त्यस्तै, नेपाली कांग्रेस र नेपाल लोकतान्त्रिक फोरमको संयुक्त मत १२ हजार ५ सयभन्दा बढी हुन आउँछ।
कांग्रेसले पनि ठाकुरलाई समर्थन गर्ने भएपछि उनको पक्षको कुल मत झण्डै ३१ हजार ५ सय हुन आउँछ।
अर्कोतर्फ वाम गठबन्धनका दुई दल एमाले र माओवादीको कुल मत ११ हजार ६५ मत छ।
स्थानीय तहकै मत दोहोरिने हो भने र गठबन्धन अनुसारकै मत खस्ने हो भने ठाकुरले वामपन्थी गठबन्धनका उम्मेदवारलाई झण्डै एक तिहाइ मतमै समेट्न सक्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।